फ्लेम अवार्डमा नेपाल डिस्टिलरीलाई ऐतिहासिक उपलब्धि, ‘न्युड’ लाई ग्रान्ड प्रिक्स र ‘खुकुरी’ लाई दुई स्वर्ण

काठमाडौं । नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा नेपाल डिस्टिलरिज(एनडीपीएल) ले अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक सफलता हासिल गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित ‘फ्लेम अवाड्र्स एसिया २०२६’ मा एनडीपीएलले दुई स्वर्ण, एक रजत र सबैभन्दा प्रतिष्ठित ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ सहित चार प्रमुख सम्मान प्राप्त गरेको हो । दक्षिण एसियाभरका अनुभवात्मक मार्केटिङ, ब्रान्ड सक्रियता, उपभोक्ता संलग्नता र नवीनताका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई प्रदान गरिने यस अवार्डमा नेपाली ब्रान्डहरूको यो उपलब्धि निकै महत्त्वपूर्ण मानिएको छ । समारोहको सबैभन्दा ठूलो आकर्षण न्युड ब्रान्डको ‘जस्ट बी यु’ क्याम्पेन रह्यो । यस अभियानले दक्षिण एसियाकै उत्कृष्ट मानिने ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ अवार्ड हात पार्यो । व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्म(अभिव्यक्तिको सन्देश प्रवाह गरेको यस अभियानले सामाजिक र सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमार्फत निर्णायकहरूको मन जित्न सफल भएको थियो । नेपालको गौरव मानिने खुकुरी रमको ‘मेरो खुकुरी’ अभियानले दुईवटा स्वर्ण पदक जितेको छ ।

यसले ‘दक्षिण एसिया इमर्जिङ मार्केट अभियान’ र ‘दक्षिण एसिया लास्ट,माइल इनोभेसन’ विधामा स्वर्ण प्राप्त गरेको हो । दशकौंदेखि उपभोक्ताहरूसँग कायम रहेको भावनात्मक सम्बन्ध र अपनत्वलाई सशक्त ढंगले प्रस्तुत गरेका कारण यस अभियानलाई यो सम्मान दिइएको हो । यसैगरी, पोखरामा सञ्चालन गरिएको ‘फ्ल्यास मोब’ अभियानले ‘दक्षिण एसिया स्मल बजेट क्याम्पेन’ विधामा रजत पदक प्राप्त गरेको छ । ठूलो प्रभाव सिर्जना गर्न सधैं ठूलो बजेट नै आवश्यक पर्दैन भन्ने तथ्यलाई यस अभियानले प्रमाणित गरिदिएको छ । स्थानीयस्तरको प्रभावकारी कार्यान्वयन र सिर्जनशीलताका कारण यसले अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाएको हो । यी सबै सफल अभियानहरूको सिर्जनात्मक पक्षको नेतृत्व आउटरीच नेपालले गरेको थियो । नेपाल डिस्टिलरिज र आउटरीच नेपालबीचको बलियो साझेदारीले नेपाली माटोमा उब्जिएका विचारहरू कसरी क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न योग्य हुन्छन् भन्ने उदाहरण पेश गरेको छ । यो सफलतापछि नेपाल डिस्टिलरिजले यी अवार्डहरू केवल संख्या मात्र नभएर नेपाली उपभोक्ताबाट प्रेरित विचारहरूको सम्मान भएको बताएको छ । कम्पनीका अनुसार, नेपाली ब्रान्ड र सिर्जनशीलताले दक्षिण एसियाका उत्कृष्ट कामहरूसँग प्रतिस्पर्धा गरेर आफ्नो स्थान बनाउन सक्छन् भन्ने विश्वास यसले अझ बलियो बनाएको छ । मानिस र संस्कृतिको गहिरो बुझाइलाई ब्रान्ड रणनीतिको केन्द्रमा राख्दा प्राप्त हुने परिणामको रूपमा यसलाई लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *