मोरङ उद्योग व्यापार संघद्वारा बाढी पीडितको राहतका लागि ४१ लाख सहयोग

विराटनगर । रसुवा बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगी व्यवसायीहरूको जेठो संस्था मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार ४१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । त्यसमध्ये ३१ लाख नगद र १० लाख मूल्य बराबरका सामग्री छन् । संघको ६९औँ वार्षिक साधारण सभाका अवसरमा मंगलबार संघका अध्यक्ष अनुपम राठीले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई सो राहत हस्तान्तरण गरेका हुन्।

त्यस अवसरमा अध्यक्ष राठीले राज्य विपद् र संकटमा परेका बेला निजी क्षेत्र सधैँ राज्यको साथमा रहँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि राज्य संकटमा परेका बेला उद्योगी व्यवसायी राज्यको साथमा रहने प्रण गरे । उनले भने, “मुलुक विपत्मा परेका बेला निजी क्षेत्र आफ्नो उद्योग व्यवसाय बिर्सिएर राज्यलाई सधैँ सहयोग गर्दै आएको इतिहास छ ।” त्यसैगरी संघले ६९औँ वार्षिक साधारण सभाकै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको भवन निर्माणका लागि पनि ७ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष राठीले उक्त रकमको चेक वाणिज्य महासंघ कोशी प्रदेशका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *