एनआईसी एशिया बैंकद्वारा कैलालीका ३ विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र हेटौंडा–४, कान्तिराजपथ, मकवानपुर अवस्थित सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । हाल १९६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत सेती मैयाँ चौधरी माध्यमिक विद्यालयमा असोज ५ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका धनगढी सर्कल हेड दिपक विष्टर टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक पतीराम चौधरीलाई एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे ।
त्यसैगरी, ११७७ भन्दा धेरै विद्यार्थीहरु रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई सोही मितिमा यस बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर चौधरीलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे । त्यस्तै, १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका अध्यक्ष वीर बहादुर खड्कालाई एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गरे । त्यस्तै बाबुआमा नभएका तथा सहारा आवश्यकता भएका २४ भन्दा धेरै बालबालिकालाई खाने बस्ने सुविधा सहित सहारा दिइरहेको मामाघर नेपाल मकवानपुरलाई आश्विन २ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के।सी र वीरगंज सर्कल हेड गोपाल प्रसाद सुवेदीले संयुक्त रुपमा मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष ईश्वर सिल्वाललाई आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरे । बैंकले उक्त विद्यालयहरु तथा आश्रमलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र आश्रममा आश्रितहरुको बसाई अझ सहज बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

















