कांग्रेस महाधिवेशनमा मतदानका निम्ति तीन स्थान तोकिए
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, सोमबार (असोज १९) साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ । साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६ः३० देखि ७ः३० सम्म दाबीविरोधउपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै, असोज २० गते बिहान १० देखि दिउँसो ३ः०० बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन अपराह्न ४ः३० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उमेदवारी दरखास्तविरुद्ध दाबीविरोध, ५ः३० देखि ६ः३० सम्म दाबीविरोधउपर जाँचबुझ र बेलुका ७ बजे उमेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
यसैगरी असोज २१ गते बिहान ९ बजेसम्म उमेदवारको नामावली फिर्ता लिने र उमेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ । सोही दिन बिहान १० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि असोज २१ गते उमेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन् । असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए । मतदानका लागि तीन स्थान तोकिएको छ । राष्ट्रिय सभागृहमा वाग्मती प्रदेशभित्रका मतदाताले मतदान गर्न पाउनेछन् । खुलामञ्चमा कोसी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा भातृ एवम् शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधि भएकाहरूले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । प्रज्ञा भवनमा तोकिएको मतदान केन्द्रमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन् । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
















