कांग्रेस केन्द्रीय समिति बैठकमा ‘हामी तयार छौँ’ अभियानको कार्यपत्र प्रस्तुत
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ‘हामी तयार छौँ’ अभियानको कार्यपत्र प्रस्तुत गरिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले अभियानसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका हुन् । सभापति गगनकुमार थापाले बैठकमा सम्बोधन गरेपछि पौडेलले अभियानको कार्यपत्र प्रस्तुत गरेका थिए । ‘हामी तयार छौँ’ अभियान देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गरिनेछ । अभियानको प्रारम्भिक चरणमा १५ दिनसम्म केन्द्रीय नेताहरू स्थानीय तहमा पुग्ने कार्यक्रम छ । “७५३ वटै पालिकामा हामी जान्छौँ । सुरुमा १५ दिनको अभियान हुन्छ ।
राष्ट्रिय शक्तिका रूपमा जिम्मेवारी लिन तयार रहेको जानकारी दिन्छौँ,” सभापति थापाले भने, “प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको जानकारी नागरिकलाई गराउँछौँ ।” कांग्रेसको १५औँ महाधिवेशनबाट पारित विधानमा नीति प्रतिष्ठानको परिकल्पना गरिएकाले वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा त्यो गठन गरिने पनि थापाले जानकारी दिए । बैठकमा निर्वाचन ब्युरो, सुशासन प्रतिष्ठान, पार्टी प्रवेशसम्बन्धी समिति, लिडरसिप एकेडेमी गठनलगायत विषयमा समेत निर्णय गरिने उनले बताए । कांग्रेसका प्रदेश तथा जिल्ला अधिवेशन आउँदो पुस १५ गतेभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई आग्रह गरिएको थापाले जानकारी दिए । प्रदेश र जिल्ला अधिवेशन सम्पन्न भएपछि पार्टी पूर्ण रूपमा स्थानीय तह निर्वाचनकेन्द्रित हुने उनको भनाइ छ ।

















