पूर्व राजा शाह ७९ वर्षमा प्रवेश, निर्मल निवासमा जन्मदिन मनाइँदै
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज ७९ औँ वर्षमा प्रवेश गरेका छन् । यस अवसरमा उनले काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा भव्य कार्यक्रम आयोजना गरेका छन्।
पूर्वराजा शाहले गत हप्ता एक सार्वजनिक सन्देश जारी गर्दै यस वर्ष जन्मदिन औपचारिक रूपमा मनाउने घोषणा गरेका थिए। सोही अनुसार, निर्मल निवासमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शुभेच्छुकहरू र आमनागरिकका लागि खुला गरिएको छ।
कार्यक्रममा विभिन्न स्थानबाट आएका राजतन्त्र समर्थक, शुभेच्छुक तथा सर्वसाधारणले पूर्वराजालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। निवास परिसरमा सांस्कृतिक प्रस्तुति, पुष्पगुच्छा अर्पण तथा आशिर्वाद ग्रहण कार्यक्रमहरू पनि भइरहेका छन्।
राजनीतिक वृत्तमा सक्रिय नभए पनि पूर्वराजाको लोकप्रियता पछिल्ला वर्षहरूमा केही बढेको देखिएको छ। यो वर्षको जन्मदिन समारोहमा भएको व्यापक सहभागिताले पनि सो संकेत गरेको छ ।
















