वर्तमान राजनीतिकमा देखा परेका ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्तिप्रति सचेत रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा सुशासन र विधिको शासन स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले वर्तमान राजनीतिक अवस्थामा देखा परेका ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्तिप्रति सचेत रहन आग्रह गरेका हुन् । उनले पार्टीले लोकतन्त्र स्थापनाका लागि वर्षौंदेखि गरेका संघर्ष र बलिदानलाई कसैले पनि भुल्न नहुने बताए । प्रवक्ता महतले आम नागरिकको सुशासन सुनिश्चित भएमात्रै देशमा छिटो प्रगति र उन्नति सम्भव हुने धारणा राखे । उनले विभिन्न दलभित्र र बाहिर रहेका स्वार्थी प्रवृत्तिहरूले गर्दा राजनीतिक वातावरण दूषित बनेको उल्लेख गर्दै यस्ता प्रवृत्तिहरूको पार्टी नेतृत्वले निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र निर्वाचन समयमा सम्पन्न नभएको र नयाँ नेतृत्व चयनमा ढिलाइ भएको सम्बन्धमा सोधिएको प्रश्नमा डा. महतले निर्वाचन गराउने जिम्मेवारी पाएकाहरूले आफ्नो भूमिका नभुल्न चेतावनी दिए । उनले निर्धारित समयमा महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने नेपाली कांग्रेसको चाहना रहेको बताए । ‘तयारी गर्ने काम उनिहरूको थियो, कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ । कुरा धेरै भएको छ, काम कम भएको छ । त्यसकारण सम्पूर्ण दोष एउटा व्यक्ति या अरुलाई पन्छाएर हामी कोही पनि त्यो जिम्मेवारीबाट मुक्त हुँदैनौं,’ उनले भने । प्रवक्ता महतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे । बाध्यात्मक परिस्थितिका कारण संयुक्त सरकार भए पनि ओली सोच र शैली चित्तबुझ्दो नभएको उनको भनाइ थियो । कांग्रेसले ठीक बाटोमा जान पर्याप्त दबाब दिन नसकेको स्वीकार गर्दै उनले यो कमजोरीलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

उनले लोकतन्त्र स्थापनाका लागि बीपी कोइराला र गणेशमान सिंहजस्ता नेताहरूले गरेको त्यागको स्मरण गर्दै पार्टीको इतिहास र विरासतमाथि प्रश्न उठाउनु गलत भएको बताए । हालैको जेननी आन्दोलनका क्रममा केही नेता तथा व्यापारीका घरहरू लक्षित गरी भएको आक्रमण र २३ गतेको गोलीकाण्डको सघन छानबिनको माग पनि उनले गरे । ‘नकाब पोसहरू पनि आएका छन् भनिएको छ । लोकतन्त्रविरोधी, जनविरोधी कुन–कुन प्रवृत्तिहरू त्यहाँ सामेल थिए, त्यसको पनि स्पष्ट छानबिन हुनुपर्छ । छानबिन भएर छर्लङ्ग भएपछि मात्रै हामीले त्यसअनुसारको दृष्टिकोण बनाएर अगाडि बढ्न सक्छौं,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *