भीभीआईपीको स्वागतमा कानुनले निर्धारण गरेको व्यक्ति मात्र जाने
काठमाडौं । गृह मन्त्रालयले अतिविशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) जिल्लामा आउँदा प्रचलित कानुनले निर्धारण गरेकोबाहेक अन्य व्यत्ति स्वागत गर्न नजान भनेको छ । गृह मन्त्रालयले आइतबार (कात्तिक २) सबै ७७ वटै जिल्ला प्रशासन कार्यालय (जिप्रका)लाई पत्र पठाई उक्त निर्देशन दिएको हो । राष्ट्रप्रमुख, प्रधानमन्त्री र अतिविशिष्ट व्यक्ति (भीभीआईपी) वा विभागीय मन्त्री औपचारिक कार्यक्रममा सहभागी हुन आउँदा र प्रचलित कानुनले निर्धारण गरेकोबाहेक अन्यलाई विमानस्थलमा स्वागत वा बिदाइका लागि सहभागी नहुने । अन्यलाई कार्यक्रम आयोजनास्थल वा कार्यालयमा मात्र स्वागतका लागि उपस्थित हुने, गृहको निर्देशनमा भनिएको छ ।
गृहले जिल्लामा अन्य निकायबाट आयोजना हुने बैठक एवम् कार्यक्रममा तोकिएको समयमा नै उपस्थित हुन भनिएको छ । आफू उपस्थित हुन नसकिने भए आयोजकलाई समयमै जानकारी गराई आफ्नो कारणबाट बैठक ढिला हुने अवस्था सृजना नगर्न पनि भनिएको छ । कार्यक्रम तोकिएको समयभन्दा १० मिनेट ढिला हुँदासम्म पनि सुरू नभएमा कार्यक्रममा सहभागिता नजनाउन पनि गृहले जिल्ला प्रशासन कार्यालयलाई भनेको छ । गृहले बैठकमा बोल्दा बैठकको अध्यक्षलाई मात्र सम्बोधन गर्ने र तोकिएको एजेण्डामा मात्र छलफल केन्द्रित गर्न निर्देशन दिएको छ । बैठक तथा कार्यक्रममा सहभागीहरूको स्वागतमा फूलमाला, खादा आदिको प्रयोग गरी खर्चिलो हुने गरेको सन्दर्भमा सम्भव भएसम्म प्रमुख जिल्ला अधिकारीले फूलमाला, खादा आदिको प्रयोग नगर्ने । प्रयोग गर्नुपरेमा प्राकृतिक फूल एवम् स्वदेशी खादा प्रयोग गर्ने,” निर्देशनमा भनिएको छ । आफूले सहभागिता जनाएको कार्यक्रमको अभिलेख कार्यालयमा राख्ने व्यवस्था मिलाउने र सोको प्रतिवेदन मन्त्रालय पठाउन पनि भनिएको छ ।