समाज रूपान्तरणमा योगदान गर्न चाहनेलाई कांग्रेसमा आबद्ध हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले समाज रूपान्तरणमा योगदान गर्न चाहने विभिन्न क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीति अवलम्बन गर्दै आएको प्रवक्ता देवराज चालिसेले शुक्रबार (फागुन १) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेसा—चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।

पार्टीका सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राखेको जनाइएको छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो ठोस विश्वास छ, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, अतः राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुन सम्पूर्ण इच्छुक महानुभावहरूलाई पार्टी हार्दिक अनुरोध गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *