रास्वपामा समस्या, बालेन हाबी

काठमाडौँ । सरकार गठन भएको २२ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबिचको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका छन् । चैत १२ गते रविकै प्रस्तावमा बालेन संसदीय दलको नेता बनेका थिए । चैत १३ गते संविधानको धारा ७६(१) बमोजिम राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । सरकार गठनलगत्तै प्रधानमन्त्री बालेनले सरकार र संसद्मा दुवैमा हस्तक्षेप गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । खासगरी मन्त्री, उपसभामुख, संसदीय समितिका सभापति छनोटमा रवि र बालेनबिच मतभेद देखिएको रुपमा अर्थ्याइएको छ । मन्त्री बनेको १२ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई फिर्ता बोलाएपछि नेतृत्व क्षमतामाथि पार्टीभित्रै नेताहरूले प्रश्न उठाएका थिए । सरकार गठनको अघिल्लो दिन केन्द्रीय कार्यालय घन्टीघरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले मन्त्री, दलको पदाधिकारी र विषयगत समितिका सभापति छनोको विषयमा प्रश्न उठाएका थिए । तर सभापति रविले कार्यक्षमता, अनुभव, भूगोल, समावेशी सबैलाई मिलाएर छनोट गर्ने विषयमा नेतृत्वलाई विश्वास गर्न भनेका थिए । मन्त्री साहविरुद्ध पदीय दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोप लाग्यो । त्यही आधारमा पार्टीको अनुशासन समितिले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको थियो । अनुशासन समितिको पत्रको आधारमा मन्त्री साहलाई कारबाही गर्न रविले प्रधानमन्त्री समक्षा चैत २६ गते सिफारिस गरेका थिए । पार्टीबाट सिफारिस भए लगत्तै प्रधानमन्त्री बालेनले मन्त्री साहलाई पदमुक्त गरेका थिए । यसैगरी उपसभामुख छनोको विषयमा पनि रवि र बालेनबिच कुरा नमिल्दा असन्तुष्टि बाहिर नै छताछुल्ल भयो । चैत २७ गते बिहानसम्म उपसभामुख राप्रपालाई दिने कि नयाँ दल श्रम संस्कृति पार्टीलाई दिने भन्नेमा दुई नेताबिच कुरा मिलेको थिएन । संविधानबमोजिम सभामुख र उपसभामुख फरक दलरलिङ्गलाई दिनुपर्ने भएकाले रवि राप्रपाको पक्षमा उभिएका थिए । बालेन श्रम संस्कृतिको पक्षमा उभिए । सभामुख रविनिकट डोलप्रसाद अर्याल निर्वाचित भए ।राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले रविको हबला दिएर उपसभामुखमा सरस्वती लामालाई उम्मेदवारी दर्ता गर्न लगाएको दाबी गरेका थिए, तर राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिएलगत्तै श्रम संस्कृति पार्टीले रास्वपाकै प्रस्तावमा रुबी कुमारी ठाकुरले उम्मेदवारी दिइन् । उपसभामुखमा रास्वपाबाट धोखा भएको भन्दै शाहीले संसद्मै रविको आलोचना गरेका थिए । गृहमन्त्रीमा वर्तमान सभामुख डीपी अर्याललाई बनाउन रविले जोडबल गरेका थिए, तर बालेनकै हस्तक्षेका कारण उनी गृहमन्त्री बन्न नपाएको राजनीतिक वृत्तमा चर्चा छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैलीलाई लिएर रास्वपाकै केही नेताहरूले असन्तुष्टि पोख्न थालेका छन् । रवि र बालेन दुवैले सामुहिक नेतृत्व प्रणालीलाई विश्वास गर्न नसकेका नेताहरूले नै आरोप लगाएका छन् । बिहीबार दिउँसो रास्वपाले १२ वटा संसदीय समितिका सभापति छनोटका लागि संसदीय दलको बैठक बोलाएको थियो । कार्यसम्पादनमा अब्बल र अनुभवी व्यक्तिलाई सभापति बनाउने पार्टी निर्णयलाई कुल्चिएर सभापति रविले पेस गरेका नामप्रति बैठकमा कसैले पनि प्रश्न उठाएनन् । तर पछिल्लो समय पार्टीभित्र सामूहिक नेतृत्व प्रणाली हराउँदै गएकोमा एक नेताले असन्तुष्टि पोखे । ‘संसदीय दलको बैठक बोलाइएको जानकारी आयो । म पनि सहभागी भएँ । बैठकमा सभापतिले नाम प्रस्ताव गर्नुभयो । उहाँले निकटस्थ, परिवारिक पृष्ठभूमि भएकाले अस्वीकार गरेका छौँ भनेर नाम प्रस्ताव गर्नुभयो । चुपचाप बैठकले अनुमोदन गर्‍यो, कसैले पनि प्रश्न उठाएनन्,’ ती नेताले रातोपाटीसँग भने । सरकार तथा पार्टी सञ्चालनमा बालेन र रविबिचको सम्बन्धमा अहिले नै दरार नआए पनि काम गर्ने शैलीमा तालमेल नमिलेको उनको बुझाइ छ । रविले राजकीय पदमा निकष्टस्थ र आफन्तलाई नराख्ने भनिए पनि उनका फाइल बोक्ने, बिजनेस पार्टनर, ग्यालेक्सी टेलिभिजनका सहकर्मीहरूले नै अवसर पाइरहेका उनले गुनासो पोखे । ‘रविजीले निकटस्थ, आफन्तलाई होइन पार्टीमा कार्यसम्पादनमा उत्कृष्ट र अनुभवका आधारमा छानेको भन्नुभयो । प्रतिभा रावल उनकै फाइल बोक्ने व्यक्ति होइन ? क्रान्तिशिखा ग्यालेक्सी टीभीका सहकर्मी होइन ? गणेश पराजुली बिजनेस पार्टनर होइन ?’, नेतृत्वमाथि प्रश्न उठाउँदै ती नेताले भने, ‘सभापतिका कोटका खल्तीबाट नाम ल्याउनुभएको छ । पार्टीभित्र छलफल हुँदैन । त्यसो भए संगठन नै चाहिँदैन भनेर खारेज गर्दिए भइगो नि । संगठनमा धेरै उकुसमुकुस भएको छ । कुन दिन विष्फोट हुन्छ थाहा छैन ।’ स्थापनाकालदेखि पार्टीलाई सहयोग गरेका इमानदार, योग्य, क्षमतावान् र अनुभवी व्यक्तिलाई पाखा लगाएर अवसर छोप्न पछिल्लो समय पार्टी प्रवेश गर्नेलाई प्रथामिकता दिएकोमा पनि ती नेताले गुनासो पोखे । रास्वपाको संसदीय दलको पदाधिकारीमा बालेन दलका नेता छन्, उपनेतामा गणेश पराजुली छन् । रवि निकटस्थ पराजुली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न चाहेका थिए । तर बालेनले डा. आमरेशकुमार सिंहलाई प्रस्ताव गरे । सिंहले उद्योगमन्त्री बन्न अस्वीकार गरेपछि केही समय प्रधानमन्त्रीले आफैसँग राखे । चैत २४ गते दोस्रोपटक मन्त्रिपरिषद विस्तार हुँदा गौरी कुमारी यादवलाई जिम्मेवारी दिइयो । यादव बालेननिकट हुन् । दलको मुख्य सचेतक रविनिकट कवीन्द्र बुर्लाकोटीले पाएका छन् । बुर्लाकोट पार्टीका महामन्त्री हुन् । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धितालले पाएका छन् । परियार विवेकशील साझाबाट आएका हुन् । धिताल ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन रविका सहकर्मी हुन् । प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । प्रतिभाको सम्बन्धमा रविले चितवनको चुनावी सभामा नाम नै लिएर प्रशंसा गरेका थिए । सरकारमा रवि र बालेनबिच ५०,५० प्रतिशत भागबण्डा भएको भनिएको छ । पछिल्लो समय सरकार र संसद्मा समेत प्रधानमन्त्री बालेन हाबी हुन थालेपछि नेतृत्वबिच शक्ति संघर्ष सुषुप्त रूपमा बढ्दै गएको विश्लेषण हुन थालेको छ । रास्वपानिकटस्थ एक विश्लेषकका अनुसार राज्य सञ्चालनको अनुभव नभएकाले रवि र बालेनबिच टसल देखिएको बताउँछन् । दुवैजनाको पृष्ठभूमि, स्वभाव र कार्यशैलीका कारण पनि समस्या देखिएको उनको बुझाइ छ । ‘बालेनजी अन्तरमुखी स्वभावका छन् । रवि बहिर्मुखी छन् । यी दुवैमा राजनीतिक अनुभव छैन । राजनीतिक अनुभव नभएसम्म सरकार र पार्टी सञ्चालन गर्न सकिँदैन । अनुभवले खारिएपछि नेतृत्व गर्न सक्ने हो । रवि र बालेन भर्खर सिक्दैछन् । सुरुवाती अवस्थामा पार्टी र सरकारबिच तालमेल नमिल्नु स्वभाविकै हो । रास्वपाका अर्का एक नेताका अनुसार प्रधानमन्त्रीले मन्त्री छनोटको विषयमा हस्तक्षेप गर्नु स्वभाविक भए पनि संसद्मा हस्तक्षेप गर्नु उचित नभएको बताउँछन् । रास्वपामा पार्टी स्थापनाकालदेखि नै योगदान गरेका सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारीलगायत नेताहरूले अवसर नै पाएका छैनन् । सूचना तथा सञ्चारमन्त्रीमा आकांक्षी देखिएका प्रवक्ता मनिष झा पनि असन्तुष्ट छन् । सहमहामन्त्री आचार्यले भने आफू अहिल्यै कुनै राजकीय पदमा बस्नुभन्दा पनि पार्टीमै योगदान गर्न चाहेको स्पष्ट पारेका थिए । यद्यपि पार्टीभित्र आधिकारिक च्यानलबाट कुनै पनि असन्तुष्टि नआएको आचार्यले जिकिर गरेका छन् । सरकारका मन्त्री, दलका पदाधिकारी, संसदीय समितिका सभापति छान्ने अधिकार केन्द्रीय समिति र संसदीय दलले नेतृत्वलाई दिएको जिकिर गरे । पहिल्यैदेखि नै आफू पार्टी विधि र प्रणालीमा चल्नुपर्छ भन्ने अडिग रहेको उनको भनाइ थियो । ‘त्यतिबेला निर्णय गर्ने अधिकार नेतृत्वलाई दिएपछि अहिले गुनासो गरेर भएन,’ आचार्यले भने, ‘पार्टी निर्णय प्रक्रिया सामूहिक, विधि र पद्धतिअनुसार हुनुपर्छ भनेर पहिल्यैदेखि भन्दै आएको छु, अहिले कुनै राजकीय पदमा बसेर भन्दा पनि पार्टीमै बसेर योगदान गर्ने पक्षमा छु ।’ बाहिर चर्चा भएजस्तै सभापति रवि र प्रधानमन्त्री बालेनबिच मनमुटावको स्थिति नभएको अचार्यले जिकिर गरे । पूराना दलहरूमा सत्ता र शक्ति संघर्ष भइरहेको अवस्थामा रास्वपामा पनि त्यस्तै भयो कि भन्ने सोचका कारण नकारात्मक कुराहरू बाहिरिने उनले बताए । ‘रवि र बालेनबिच आम जनताको माग अनुसार एउटा बिन्दूमा सम्बन्ध स्थापित भएको हो । पुराना राजनीतिलाई विस्तापित गरी वैकल्पिक राजनीति स्थापित गर्ने उद्देश्यले नै सम्बन्ध स्थापित भएको हो । काम गर्दै जाँदा केही मतभेद हुन सक्छन् । पुराना दललाई हेरेर दुई नेताबिच त्यस्तै भयो कि भनेर नकारात्मक धारणा बहिर ल्याएको छ । व्यवहारमा त्यस्तो देखिँदैन,’ आचार्यले भने । कोषाध्यक्ष लिमा अधिकारीले पनि संसद्को अर्थ वा उद्योग समितिको सभापति भएर काम गर्न चाहेको भए पनि सबै पक्षलाई समेट्नुपर्ने बाध्यताले पार्टीमै बसेर काम गर्ने बताइन् । ‘मेरो अर्थ वा उद्योगसँग सम्बन्धित विषय भएकाले संसदीय समितिको सभापति बनेर केही योगदान गर्न सकिन्छ कि आकांक्षा राख्नु स्वाभाविक हो । तर नेतृत्व तहबाट कुनै अफर आएको होइन, सबै पक्षलाई मिलाएर लैजानुपर्ने बाध्यता छ । महाधिवेशन पनि गर्नुपर्ने भएकाले अहिले पार्टीमै बसेर योगदान गर्ने पक्षमा छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *