बालेनको भारत भ्रमण, यस्तो छ २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति
काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्तापछि संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । पदभार ग्रहण गरेपछिको आफ्नो पहिलो भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ भने कनेक्टिभिटी, ऊर्जा, शिक्षा र प्रविधिका क्षेत्रमा दीर्घकालीन महत्त्वका सहमतिहरू भएका छन्। दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण (जोइन्ट भिजन) पारित गरेका छन्, जसले आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, जलवायु उत्थानशीलता, डिजिटल सेवा, अन्तरिक्ष र स्टार्ट–अप जस्ता क्षेत्रमा भविष्योन्मुख साझेदारीको मार्गचित्र तय गरेको छ। वार्ताका क्रममा प्रधानमन्त्री साहले विनाशकारी रसुवा–भोटेकोशी बाढीका बेला भारतले पुर्याएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे ।
२४ हजार करोडको विकास सहायता र कृषि पार्क
भारतले घोषणा गरेको कुल १५ हजार करोड भारु (२४ हजार करोड अर्थात २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको सहायता प्याकेजमध्ये ३ हजार ५ सय करोड भारु (५ हजार ६ सय करोड नेरु) विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान सहायता हो। त्यस्तै, बाँकी ११ हजार ५ सय करोड भारु (१८ हजार ४ सय करोड नेरु) ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहेको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, भारतको अनुदान सहायतामा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गरिएको छ भने भारतकै सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रगतिप्रति दुवै नेताले सन्तोष व्यक्त गरेका छन् ।
रेल, हवाई, बन्दरगाह र सीमा कनेक्टिभिटीमा फड्को
भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अयोध्या र जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको हरियो झण्डा देखाई शुभारम्भ गरे। बौद्ध र शिव–शक्ति सर्किटमा पनि यस्तै रेल सेवाको सम्भावना खोजिने सहमति भएको छ। साथै, रक्सौल–काठमाडौं विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भेले अन्तिम रूप पाएको र पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै देशले सहकार्य गर्ने घोषणा गरिएको छ। हवाई कनेक्टिभिटी विस्तारका लागि हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं – भैरहवा – लखनऊ मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) को नयाँ मार्ग उपलब्ध गराएको छ भने पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहसम्मको पहुँच पनि दिइने जनाएको छ। यसै अवसरमा धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने सीमापार मोटरेबल पुलको उद्घाटन तथा बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल शिलान्यास गरिएको छ।
ऊर्जा, जलविद्युत् र पेट्रोलियम पूर्वाधार
दुवै देशका प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरे। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याएर कार्यान्वयनमा लैजान पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त समितिलाई निर्देशन दिइएको छ भने सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर कार्यलाई तीव्रता दिने सहमति भएको छ। इनरुवा–नयाँ पूर्णिया र दोदोधारा–बरेली उच्च क्षमताका प्रसारण लाइनका लागि संयुक्त उपक्रम (जेभी) गठनमा भएको प्रगतिलाई पनि दुवै पक्षले स्वागत गरेका छन्। पेट्रोलियम पूर्वाधारतर्फ मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ। झापामा पेट्रोलियम टर्मिनलको भर्चुअल शिलान्यास गरिनुका साथै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन छिट्टै सुरु गर्ने र ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्ने सहमति भएको छ।
नेपालमा आईआईटी क्याम्पस र सीमा विवाद समाधानको पहल
नेपालको शिक्षा र प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफ–शोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ। यस्तै, एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चार (टेलिकम) सेवामा सहज पहुँचको पारस्परिक व्यवस्था मिलाउन दुवै पक्ष सहमत भएका छन्। सीमा स्तम्भहरूको मर्मतसम्भारसम्बन्धी संयुक्त फिल्ड कार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दुवै नेताले बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा कार्य गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिए ।
८ वटा समझदारी पत्रमा हस्ताक्षर
भ्रमणका क्रममा दुई देशबीच विभिन्न ८ वटा समझदारी पत्र (एमओयू) आदानप्रदान भएका छन्। जसमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटीबीचको सहकार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र भारतीय राष्ट्रिय रक्षा विश्वविद्यालयबीचको समझदारी, निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धति, इसरोको सहयोगमा स्याटकम नेटवर्क स्थापना, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी समझदारीहरू समावेश छन्।
उच्चस्तरीय भेटवार्ता र नेपाल भ्रमणको निम्तो
भ्रमणका क्रममा राष्ट्रपति भवनमा राजकीय सम्मान ग्रहण गरेका प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरे भने भारतीय विदेश मन्त्री डा। एस। जयशंकरले पनि प्रधानमन्त्री साहसँग भेट गरे। प्रधानमन्त्री शाहले न्यानो आतिथ्यका लागि धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभएको र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपालका प्रधानमन्त्रीको भारतमा भएको राजकीय भ्रमण (२२–२३ नोभेम्बर २०२६) सम्बन्धी संयुक्त प्रेस विज्ञप्ति
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री महामहिम श्री बालेन्द्र साहले २२–२३ नोभेम्बर २०२६ मा भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँका साथ उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। पदभार ग्रहण गरेपश्चात् प्रधानमन्त्री बालेन्द्र साहको यो पहिलो भारत भ्रमण हो।
२. प्रधानमन्त्री साहलाई राष्ट्रपति भवनमा राजकीय सम्मानका साथ स्वागत (सेरेमोनियल वेलकम) गरियो। उहाँले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री साहले भारतकी माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। भारतका विदेश मन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री साहसँग भेटवार्ता गर्नुभयो।
३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साहसँग द्विपक्षीय वार्ता गर्नुका साथै उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। दुई नेताहरूबीचको छलफलमा द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय विषयहरू तथा विश्वव्यापी घटनाक्रमहरू समेटिएका थिए।
४. नेपालमा ठूलो जनधनको क्षति पुर्याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको अवस्थामा भारतले पुर्याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री साहले आभार व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने कुरा पुनः दोहोर्याउनुभयो। भारतले नेपाललाई कुल भारु १५,००० करोड (नेरु २४,००० करोड) बराबरको विकास सहायता उपलब्ध गराउनेछ, जसमा नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरूका लागि भारु ३,५०० करोड (नेरु ५,६०० करोड) अनुदान सहायता तथा ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भारु ११,५०० करोड (नेरु १८,४०० करोड) को भारतीय रुपैयाँमा आधारित ऋण सहायता (लाइन अफ क्रेडिट) समावेश छ। विशिष्ट परियोजनाहरू तथा विकास सहायता प्रदान गर्ने कार्यविधि आपसी परामर्शमार्फत अन्तिम रूप दिइनेछ।
६. दुवै नेताले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायत नेपालमा सञ्चालित विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको निरन्तर प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (नेसनल पुलिस एकेडेमी) को निर्माणमा हासिल भएको प्रगतिको उहाँहरूले प्रशंसा गर्नुभयो। दुवै नेताले भारतको अनुदान सहायतामा चितवनमा कृषि–औद्योगिक पार्क (एग्रो–इन्डिस्ट्रियल पार्क) स्थापना गर्ने घोषणाको पनि स्वागत गर्नुभयो।
७. दुवै नेताले “विकसित भारत र समुन्नत नेपाल” को संयुक्त दृष्टिकोण (जोइन्ट भिजन) पारित गर्नुभयो। यो संयुक्त दृष्टिकोण वक्तव्यले भारत र नेपालबीचको आकांक्षी र भविष्योन्मुख साझेदारीका लागि मार्गचित्र प्रदान गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत, र जनस्तरको सम्बन्ध जस्ता द्विपक्षीय सहयोगका परम्परागत रूपमा सुदृढ क्षेत्रहरूलाई विस्तार गर्नुका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्ट–अप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रहरूमा नयाँ सहकार्यका पहलहरू समेटिएका छन्।
८. नेताहरूले कनेक्टिभिटी विस्तार गर्न र द्विपक्षीय आर्थिक संलग्नतालाई बढावा दिन नागरिक उड्डयनका विषयमा भइरहेका छलफलहरूको स्मरण गर्नुभयो। हाल एकतर्फी रहेको बी३४५ ९द्यघद्धछ० काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा कार्यविधि तय गर्न तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिनेछन्।
९. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो। यसका साथै, आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच पनि उपलब्ध गराइनेछ।
१०. दुई नेताहरूले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइनहरूको स्थापनामार्फत सीमापार कनेक्टिभिटी सुधार गर्ने र सीमा पूर्वाधार सुदृढ बनाउने महत्त्वमाथि जोड दिनुभयो।
११. दुई प्रधानमन्त्रीहरूले अयोध्या र जनकपुरबीच उद्घाटन स्वरूप ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको हरियो झण्डा देखाई शुभारम्भ गर्नुभयो। यस रेल सेवाले कनेक्टिभिटी सुधार गर्नुका साथै रामायण सर्किट अन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्नेछ र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप सुदृढ बनाउनेछ। नेताहरूले बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटहरूको विकास गर्न यस्तै प्रकारका अन्य कनेक्सनहरूको सम्भावना खोज्न सहमति जनाउनुभयो।
१२. दुई नेताहरूले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भेले अन्तिम रूप पाएको घोषणा गर्नुभयो र नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।
१३. दुई नेताहरूले बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आईसीपी निर्माणमा भइरहेको प्रगतिको स्वागत गर्नुभयो। भारत र नेपालबीच तीनवटा आईसीपीहरू यसअघि नै सञ्चालनमा आइसकेका छन्।
१४. नेताहरूले धार्चुला (भारत) र दार्चुला (नेपाल) बीच नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष कनेक्टिभिटी सुधार गर्न मद्दत पुर्याउनेछ।
१५. नेताहरूले सीमा स्तम्भहरूको मर्मतसम्भार तथा पुनर्निर्माणसम्बन्धी संयुक्त फिल्ड कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो र परराष्ट्र सचिवहरूलाई बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा कार्य गर्न निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा नेताहरूले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुई नेताहरूले नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास समेत गर्नुभयो र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम चाँडो सुरु गर्नुपर्ने महत्त्वमाथि जोड दिनुभयो। दुवै पक्ष भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्न सहमत भएका छन्।
१७. दुवै पक्षले ऊर्जा क्षेत्रको सहकार्यका लागि भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र र दीर्घकालीन विद्युत् व्यापार सम्झौता अनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरे। दुवै पक्षले नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गर्दै भारतीय कम्पनीहरूद्वारा नेपालमा निर्माणाधीन विभिन्न जलविद्युत् परियोजनाहरू शीघ्र सम्पन्न गर्ने सुनिश्चिततामा सहमति जनाए। यसै अवसरमा, दुई नेताहरूले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो।
१८. दुई नेताहरूले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोत सम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर. लाई शीघ्र अन्तिम रूप दिई आयोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो। दुवै नेताहरूले पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि सहमति जनाउनुभयो।
१९. दुवै पक्षले इनरुवा (नेपाल)–नयाँ पूर्णिया (भारत) र दोदोधारा (नेपाल)–बरेली (भारत) बीच दुईवटा उच्च क्षमताका सीमापार प्रसारण लाइनहरू निर्माणका लागि संयुक्त उपक्रम (जेभी) गठन गर्ने सम्बन्धमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास र क्षमता अभिवृद्धि सहायताको विस्तार स्वरूप भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफ–शोर (विदेशी) क्याम्पस स्थापना गर्ने विषयमा दुई नेताहरूबीच सहमति भयो। यसले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ९फोर्स–मल्टिप्लायर० ल्याउनेछ र रोजगारी सिर्जनालाई पनि प्रवर्द्धन गर्नेछ। दुवै नेताहरूले स्टार्ट–अप तथा डिजिटल र वित्तीय कनेक्टिभिटी लगायत प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. दुवै पक्षले एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चार (टेलिकम) लगायतका सेवाहरूमा सहज पहुँचको पारस्परिक व्यवस्था मिलाउनुपर्ने आवश्यकतालाई स्वीकार गरे।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच देहायका समझदारी पत्रहरू ९ःयग्क० आदानप्रदान गरिए स्
नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी, गान्धीनगर, गुजरात, भारत र अपराध अनुसन्धान विभाग, नेपाल प्रहरीबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी पत्र।
राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू), भारत र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए), नेपालबीच समझदारी पत्र।
नेपालका निजामती कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्बन्धी भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग अन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी पत्र।
आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्य सम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारी पत्र।
दक्षिण एसियाली भू–उपग्रह (साउथ एसिया स्याटेलाइट) को उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय (एमओआईसी) बीच समझदारी पत्र।
दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य सम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारी पत्र।
स्वास्थ्य तथा चिकित्साका क्षेत्रमा सहकार्य सम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी पत्र।
पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य सम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारी पत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डलप्रति दर्शाइएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो र उहाँलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो र भ्रमणको आधिकारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी सबै तहमा गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा निर्मित छ, र बलियो जनस्तरको सम्बन्धका साथै घनिष्ठ आर्थिक र विकास सहकार्यले यसलाई थप सुदृढ बनाएको छ। यस भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा र यसलाई थप अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
२३ नोभेम्बर २०२६
नयाँ दिल्ली

















