देउवा कांग्रेसका सातै प्रदेश कार्यसमितिको फेरिँदै आकार
काठमाडौं । नेपाली कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनलक्षित प्रदेश कार्यसमितिको संरचना र सदस्य संख्या हेरफेर गर्ने प्रस्ताव अघि सारिएको छ । महाधिवेशन तयारी समितिअन्तर्गतको विधान मस्यौदा समितिले सातै प्रदेशका कार्यसमिति, पदाधिकारीको संख्या, समावेशी प्रतिनिधित्व र निर्वाचन प्रणालीसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको हो । प्रदेशानुसार कार्यसमितिको आकार फरक–फरक हुने प्रस्ताव गरिएको छ । कोसीमा १२३, मधेसमा १०२, वाग्मतीमा १२४, गण्डकीमा १००, लुम्बिनीमा ११२, कर्णालीमा ८९ र सुदूरपश्चिममा ८९ सदस्यीय कार्यसमिति रहने प्रस्ताव गरिएको समितिले जनाएको छ । प्रस्तावित व्यवस्थाअनुसार हरेक प्रदेशमा सभापति, तीन उपसभापति, तीन महामन्त्री र तीन सहमहामन्त्री रहनेछन् । सहमहामन्त्रीमा एक महिला र ४० वर्षभन्दा कम उमेरका एक युवा अनिवार्य समेट्नुपर्ने प्रस्ताव छ । प्रदेश कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको देउवा पक्षको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए । प्रदेश सभापति निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने प्रस्ताव गरिएको छ । कुनै पनि उमेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसके सबैभन्दा धेरै ल्याउने दुईजनाबीच पुनः मतदान गरिनेछ । दोस्रोपटकको मतदानमा बढी मत प्राप्त गर्ने उमेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर, दुई मात्र उमेदवार भएको अवस्थामा सुरुमै बढी मत प्राप्त गर्ने निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको समितिले जनाएको छ । प्रस्तावित विधानमा प्रदेश सभापतिलाई कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनयन गर्न सक्ने अधिकार दिने व्यवस्था गरिएको छ । महिला एकतिहाइ प्रतिनिधित्व, समावेशी सिद्धान्त तथा अपांगता भएका व्यक्ति र अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई ध्यानमा राखेर मनोनयन गर्नुपर्ने प्रस्ताव छ ।
यस्तै, प्रदेश कार्यसमितिमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी समानुपातिक सदस्य चयनको व्यवस्था गरिएको छ । प्रदेश कार्यसमितिमा भूगोलका आधारमा पनि प्रतिनिधित्व गराइनेछ । प्रत्येक जिल्लाबाट कम्तीमा एक महिलासहित दुईजना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ । १८ पूरा भई २८ वर्ष ननाघेका ‘नवयुवा’ प्रतिनिधिमध्येबाट एक महिलासहित तीन र ४० वर्षभन्दा कम उमेरका युवा प्रतिनिधिमध्येबाट दुई महिलासहित पाँचजना निर्वाचित हुने प्रस्ताव छ । यसका अतिरिक्त प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवार, विषय विज्ञ, पेसागत क्षेत्र र श्रमिक समूहबाट समेत प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ । मस्यौदाअनुसार, सबैभन्दा ठूलो कार्यसमिति वाग्मती प्रदेशको हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ८९ सदस्यीय कार्यसमिति प्रस्ताव गरिएको कुईंकेलले बताए । विधान मस्यौदामा जिल्ला कार्यसमितिको संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ । जिल्ला सभापतिले क्षेत्रीय प्रतिनिधिमध्येबाट नाम प्रस्ताव गरी एक उपसभापति, एक सचिव र एक सहसचिव कार्यसमितिबाट निर्वाचित गराउने व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ । यसले जिल्ला कार्यसमितिलाई थप समावेशी बनाउने समितिको तर्क छ । कांग्रेसका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ । जनसम्पर्क समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वका निम्ति तीन महिलासहित १० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यसनिम्ति युरोपबाट दुई, अमेरिका, ओसियाना, मध्यपूर्व, एसिया प्यासिफिक र भारतबाट एक,एकजना तथा नेपाल जनसम्पर्क समितिबाट तीन महिला निर्वाचित हुने प्रस्ताव छ । प्रदेश समिति २९ देखि ३४ सदस्य थप्ने प्रस्ताव अघि सारिएको छ । कोसी प्रदेशमामा यसअघि ८९ सदस्यीय कार्यसमिति थियो । अब १२३ प्रस्ताव गरिएको छ । मधेस प्रदेशमा ७३ बाट बढाएर १०२ सदस्यीय समिति प्रस्ताव गरिएको छ । वाग्मती प्रदेशमा ९२ रहेकामा अब १२४ सदस्यीय समिति प्रस्ताव गरिएको छ । गण्डकी प्रदेशमा हाल ६९ सदस्यीय समिति छ । अब १०० पुर्याउने प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेश समिति सदस्य संख्या ७८ बाट बढाएर ११२ कायम गर्ने प्रस्ताव छ । कर्णाली प्रदेशमा हाल ६० सदस्यीय समिति छ । अब ८९ सदस्यीय समिति प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ६० बाट थपेर ८९ सदस्यीय समिति बनाउने प्रस्ताव रहेको कुईंकेलले जानकारी दिए । कांग्रेस देउवा पक्षले १५औँ महाधिवेशनको तयारी निरन्तर अघि बढाएको छ । देउवा पक्षले यसअघि नै यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

















