युवा नेता एवं समाजसेवी राणाद्वारा धिमेवाजा खल समितिलाई आर्थिक सहयोग
भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका ३ निवासी नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी रबी राणाले तिथली नगरकोटी धिमेवाजा खल समितिका संयोजक विनय नगरकोटीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । सूर्यविनायक नगरपालिका ७ गुण्डुमा भएको एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै राणाले कला र संस्कृत देशको पहिचान भएको भन्दै यसलाई बचाएर राख्ने सबैको कर्तव्य भएको बताए । उनले यसका लागि यो त्यो नभनी आफू र आफ्नो सिङ्गो पार्टीको साथ रहेको बताए ।

साथै राणाले आगामी शनिवार दीक्षान्त हुने लाई अग्रिम बधाई दिँदै आफूले सिकेका कुरा भावी पुस्तालाई पनि सिकाएर समाजलाई सही मार्गमा लानेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा धिमेवाजा खल समितिका संयोजक नगरकोटीले वडा र नगरपालिकामा सहयोग माग्दा सहयोग नदिएको र दीक्षितलाई दीक्षान्त समारोह गर्न समेत नसक्ने अवस्थामा समाजसेवी राणाले सहयोग गरेर आफूहरूको हौसला बढाएको भन्दै आभार व्यक्त गरे । बिना स्वार्थमा काम गर्दा भगवानले समेत पुराएको भन्दै उनले आफू र टोलवासीको अझ हौसला बढाएको बताए । आगामी शनिवार १२ जना दीक्षित हुँदैछन् । स्थानीयहरूको आग्रहमा पार्टी नेता एवं समाजसेवी राणाले सहयोग गरेको स्थानियले जानकारी दिएका छन् ।
















