प्रथम ‘सहकारी डिजिटल कन्क्लेभ’ को तयारी
काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो । प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न र महत्वाकांक्षी सहकारी भिजन २०३० सँग डिजिटलाइजेसनको शक्ति प्रयोग गरी सहकारीको रुपान्तरण गर्न कार्यक्रम कोशेढुङ्गा सावित हुने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् । कन्क्लेभको आन्तरिक तयारी पुरा भएको समेत उनले जनाइन् । सहकारीमा डिजिटलाईजेसन प्रक्रियामा बाधा पुर्याउने नीगित खाडलहरु पहिचान गरी सम्बोधन गर्न, डिजिलटल सहकार्यका लागि सरोकारावालाबीच सहमति निर्माण गर्नका लागि पनि कन्क्लेभले महत्वपूर्ण दिशानिर्देश गर्ने महासंघका नायब महाप्रबन्धक सुरेश थापाले जानकारी दिए । डिजिटलाइजेसनसँग आउने चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीका लागि अनुकूल साइबर सुरक्षा प्रणालीहरूका विषयमा पनि महत्वपूर्ण सिकाई हुने थापाको भनाई छ ।
कन्क्लेभमार्फत अग्रणी आइसीटी विशेषज्ञहरु, नीति निर्माताहरु र टेक्नोलोजी सेवा प्रदायकहरुसँग सहज अन्तक्रिया हुने भएकाले यसले नेपालको सहकारी अभियानलाई डिजिटल रुपान्तरणको यात्रामा पुलको काम गर्ने अपेक्षा गरिएको छ । कन्क्लेभको मुख्य बक्ताको रुपमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा रहेका छन् । खतिवडाले सन् २०३० मा सहकारीको पुर्नपरिकल्पना शीर्षकमा महत्वपूर्ण दिशानिर्देश गर्नेछन् । कार्यक्रमलाई इन्फो डेभलपर्स प्रा। लि। र भैरव टेक्नोलोजी प्रा। लि।ले प्रायोजन गरेको छ । आकाश डिजिटल, मोरु डिजिटल वालेट, सिटिजन लाइफ इन्स्योरेन्स, एमफाइनान्स र एमबैंकले सहयोग छ । सम्मेलनमा पाँच वटा महत्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । नेपालमा सहकारीलाई डिजिटलाइज गर्ने विगतका अनुभव र भविष्यको रोडम्याप, सहकारी डिजिटाइजेसनको लागि डिजिटल समाधान, साइबर सुरक्षाको खतरा र न्यूनीकरणका रणनीति, डिजिटलाइजेसनका नीतिगत फ्रेमवर्क र सन् २०३० सम्म सहकारीलाई पूर्ण डिजिटलाइजेसन गर्ने एजेण्डाहरुका विषयमा प्रस्तुतिकरण हुने महासंघले जनाएको छ ।
















