राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेसका दुवै महामन्त्रीको असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार चयनमा पार्टीका दुवै महामन्त्रीले असन्तुष्टि जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार चयनका लागि मंगलबार र बुधबार बोलाइएका कार्यसम्पादन समितिको बैठक बहिस्कार गरे भने अर्का महामन्त्री गगन थापाले उम्मेदवार चयनको विषयमा फरक मत राखेका छन् । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा तालमेल, उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै महामन्त्री थापाले फरक मत राखेको बताएका छन् ।

‘मैले पार्टीको निर्णयमा फरक मत दर्ज गरेको छु । विधान, प्रक्रिया मिच्ने काम भएको छ’, महामन्त्री थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग भने । थापाले समितिको बैठकमा सहभागी भए पनि विधान मिच्ने कामप्रति फरक मत राखेको बताए । उनले आफू र अर्का महामन्त्री शर्मालाई पेल्ने काम भएको उनले बताए । ११ माघमा हुने १८ सदस्यीय राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालले भागबन्डा गरेका छन् । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिएका छन् । उम्मेदवार छनोटमा आफूहरूसँग पर्याप्त छलफल नगरिएको दुवै महामन्त्रीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *