माया खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौं । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १ करोड कित्ता हकप्रद शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो। आइतबार आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबिच यससम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा माया खोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार अब सिटिजन्स क्यापिटलले माया खोलाको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति लिने सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ। बोर्डबाट स्वीकृति पाएपछि शेयर बिक्री व्यवस्थापनको जिम्मेवारी समेत सिटिजन्स क्यापिटलले नै सम्हाल्नेछ। संखुवासभा जिल्लामा अवस्थित १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरी यस कम्पनीले २०८० असारदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको छ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री भइरहेको छ। वि.सं. २०६७ सालमा निजी कम्पनीका रूपमा स्थापना भएको यो आयोजना २०७३ सालमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो। कम्पनीले यसअघि २०७९ साल माघमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको थियो। अहिले दोस्रो बजारमा सूचीकृत भइसकेको यस कम्पनीले आयोजनाको वित्तीय सुदृढीकरण वा अन्य रणनीतिक योजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयरको बाटो रोजेको हो। धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्रै यो हकप्रद शेयर र लगानीकर्ताका लागि खुला हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *