१८ वर्षपछि जाजरकोटमा कांग्रेसले लगायो नेकपाको यात्रामा ब्रेक

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा( का शक्तिबहादुर बस्नेतलाई हराएका छन् । बुढाले २० हजार १ सय ४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४ सय सात मत प्राप्त गरी उपविजेता बने । नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । बुढा कांग्रेस जाजरकोटका कार्यवाहक सभापति हुन् । कांग्रेसनिकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका बुढा २०७४ सालमा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका थिए । बस्नेत पराजित भएसँगै जाजरकोटमा १८ वर्षपछि नेकपा (तत्कालीन माओवादी केन्द्र) को एकछत्र राज तोडिएको छ । २०६४ सालयताका कुनै पनि चुनावमा नेकपाका उम्मेदवार पराजित भएका छैनन् । तीनपटक त बस्नेत नै विजयी भएका छन् । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र युद्धको सुरुवाती चरणबाटै भूमिगत भएका बस्नेतले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।

उनी तत्कालीन समयमा राज्यपक्षसँग युद्ध लड्न माओवादीले तयार गरेको जनमुक्ति सेनाको डिभिजन कमिसारसमेत थिए । एक दशक लामो युद्ध छेडेको माओवादी २०६२।०६३ पछि शान्ति प्रक्रियामा आयो । माओवादीले हतियार बिसाएसँगै २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भयो । सो निर्वाचनमा जाजरकोटबाट तत्कालीन माओवादीका कालीबहादुर मल्ल र भक्तबहादुर शाहले जित निकालेका थिए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा दोस्रोपटक चुनाव भयो । यही निर्वाचनबाट संसदीय राजनीतिमा उदाएका थिए, बस्नेत । जाजरकोटमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता निरन्तर प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्दै आएको तत्कालीन माओवादीका लागि यसपटकको चुनावी ब्याटल भने सहज भएन । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनबाट संघीय संसदमा प्रवेश गरेका बस्नेतले २०७४ र २०७९ सालमा कांग्रेस–एमालेसँगको फरक–फरक गठबन्धनबाट अविजित यात्रा तय गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *