प्रत्यक्षतर्फ भोलि र समानुपातिकतर्फ मंगलबारसम्म मतगणना सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना भोलि र समानुपातिकतर्फको मंगलबार (पर्सि)सम्म सकिने निर्वाचन आयोगले बताएको छ । हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ । बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ । भोलि दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको आयोगले बताएको छ । समानुपातिकतर्फ खसेको एक करोड ९ लाख मतमध्ये हालसम्म ५० लाख (करिब ४६ प्रतिशत) मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको छ ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ । निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले अथवा नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराइने उनले प्रस्ट पारे । चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *