भाटभटेनीको भरतपुर शाखा पुनः सञ्चालन

नारायणगढ । जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखा शुक्रबारदेखि सेवा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘हामीले ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरेका छौँ । ‘नयाँ सेवा सुरु हुँदै गर्दा विगतको भन्दा पनि परिष्कृत भएर सेवा दिने प्रण गरेका छौँ । यो शाखामा मात्रै झन्डै एक अर्ब रुपियाँ बराबरका क्षति भएको पनि उनले जानकारी दिए । जलेको संरचनालाई पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन भाटभटेनीलाई सात महिना तीन दिन लाग्यो । सेवा सुचारु भएको पहिलो दिन नै ग्राहकको ठुलो भिड लागेको थियो । दिनभर नै ग्रहकको चहलपहल थियो । सञ्चालक गुरुङसहितको टिमलाई दिनभर जसो नै ग्राहक व्यवस्थापनमा भ्याइनभ्याइ भएको थियो ।

कुनै औपचारिक कार्यक्रम नै नगरी सिधै बिहान ७ बजेदेखि सेवा सुरु गरिएको थियो । भाटभटेनीका देशैभरि ३३ वटा शाखामध्ये जेनजी आन्दोलनमा १२ वटा जलेर पूर्ण नष्ट भएका थिए भने १६ वटामा लुटपाट भएको थियो । यसबाट १६ अर्ब क्षति भएको गुरुङले जानकारी दिए । क्षतिमध्ये बिमाबाट दुई अर्ब तीन करोड रुपियाँ क्षतिपूर्ति पाएको र सरकारले बाहिरी देशबाट आयात हुने सामानको भन्सार शुल्कमा ५० प्रतिशतभन्दा बढी छुट नदिएको उनले जानकारी दिए । भरतपुरसँगै भाटभटेनीका पूर्ण जलेर नष्ट भएका कोटेश्वर, महाराजगन्ज र बालुवाटारको वेयर हाउस गरी चार वटा शाखा पुनः सञ्चालनमा आएका छन् भने अझै आठ वटा सञ्चालनमा आउन बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *