नेपालमा ‘आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप’ छनोट प्रतियोगिता हुँदै
नेपालमा पहिलोपटक ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता– २०२६’ आयोजना हुने भएको छ ।प्रतियोगितामार्फत उत्कृष्ट टोली छनोट गरी नेदरल्याण्ड्समा हुने आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकपमा नेपालको प्रतिनिधित्व गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालिले संयुक्त रूपमा गर्नेछन् ।प्रतियोगिताको उद्देश्य देशभरका लुकेका फुटबल प्रतिभाको पहिचान गर्नु, युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्नु तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउनु रहेको आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६, २०२६ सम्म नेदरल्याण्ड्सको युट्रेक्टमा आयोजना हुने आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप–२०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ । विजेता टोलीको विश्वकप सहभागिताको सम्पूर्ण व्यवस्थापन आयोजकले गर्ने जनाइएको छ । आयोजकका अनुसार विजेता टोलीका खेलाडीले एलपीएस म्यानेजमेन्ट प्रालिसँग तीन महिनाको व्यावसायिक खेलाडी सम्झौता (प्रोफेसनल प्लेयर कन्ट्र्याक्ट) गर्ने अवसर पनि प्राप्त गर्नेछन् । साथै, विश्वकपको तयारीका लागि उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा सहभागी सबै टोलीको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक ‘नेपाल ३भी३ स्ट्रिट फुटबल र्याङ्किङ’ तयार गरिने आयोजकले जनाएको छ ।
उक्त र्याङ्किङलाई आगामी अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका लागि छनोटको आधार बनाइने जनाइएको छ । आयोजकका अनुसार नेपालमा स्ट्रिट फुटबल संस्कृतिलाई संस्थागत गर्दै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने दीर्घकालीन लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका सम्पूर्ण खेलहरू लेट्स प्ले स्पोर्ट्स युट्युब च्यानल र नेपाल एफसी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएका छन् । यसका साथै, प्रतियोगिताका सम्पूर्ण खेलहरूको नतिजा, लाइभ अपडेट र खेल तथ्याङ्कहरूरियल टाइममा आधिकारिक वेबसाइट च्यालेन्ज प्लेसमार्फत सहजै हेर्न र फलो गर्न सकिने बताइएको छ । सन् २०२३ मा स्थापना भएको आईएसएफए विश्वभरका स्ट्रिट फुटबल खेलाडी र क्रुहरूलाई एउटै छानामुनि जोड्ने एक सर्वोच्च विश्वव्यापी संस्था हो ।
















