बाढीपीडितलाई २१ लाख रुपैयाँ सहयोग गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले रसुवाको भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । ललितपुरको बालकुमारीमा भदौ १६, १७ र १८ गते तीन दिन बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले भोटेकोसी बाढीमा ज्यान गुमाएका देश–विदेशका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार र बाढीपीडितको व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ । बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको जनाएको छ । त्यस्तै, पार्टीको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *