सानेपा फर्किए असन्तुष्ट पक्षका ३५ बढी नेता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला असन्तुष्ट पक्षका ३५ भन्दा बढी नेता बिहीबार सानेपा फर्किएका छन् । केही महिनादेखि पार्टी केन्द्रीय कार्यालयबाट दूरी बनाउँदै आएका नेताहरू एकपछि अर्को गर्दै सानेपा पुगेपछि कांग्रेसभित्रको शक्ति समीकरणमा नयाँ बहस सुरु भएको छ । तर, नेताहरूको यो फिर्तीले देउवा पक्षको अडान बदल्छ वा पूर्वसभापति देउवा आफ्नै रणनीतिमा अघि बढ्छन् भन्ने प्रश्न उठेको छ । संस्थापन पक्षसँग असन्तुष्टि जनाउँदै चुनदेवीमा सम्पर्क कार्यालय स्थापनादेखि पूर्वसभापति देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका नेताहरू नै बिहीबार केन्द्रीय कार्यालयको बैठकमा सहभागी भए । चुनदेवीमा असन्तुष्ट पक्षको सम्पर्क कार्यालय स्थापना गर्न मुख्य भूमिका खेलेका देउवानिकट मानिने नेता मीन विश्वकर्मादेखि ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू सानेपा पुगे । सभापति गगनकुमार थापा विशेष महाधिवेशनको पक्षमा उभिइरहेका बेला देउवाको पक्षमा खुलेर उभिएका नेताहरूमध्ये करिब आधा नेता संस्थापन पक्षको बैठकमा सहभागी भएका हुन् । यसले कांग्रेसभित्र लामो समयदेखि देखिएको दुई धारबीच संवादको सम्भावना बढेको संकेत गरे पनि देउवा पक्षको राजनीतिक अडान भने तत्काल फेरिएको देखिँदैन । पूर्वसभापति देउवा एउटा वडा मात्रै बाँकी रहे पनि अधिवेशन प्रक्रिया अघि बढाउने पक्षमा रहेको उनीनिकट एक नेताले बताए ।

“उहाँले महाधिवेशनको मिति घोषणा गरिसक्नुभएको छ,” ती नेताले भने, “अब बाँकी रहेका नेताहरू पनि सानेपा गए भने पनि एक्लै भए पनि महाधिवेशन गर्नुहुन्छ उहाँले ।” सानेपा फर्किएका नेताहरूप्रति भने ती नेताले असन्तुष्टि जनाए । उनीहरू राजनीतिक अवसरको खोजीमा संस्थापन पक्षतिर गएको उनको आरोप छ । “सानेपा दौडिएका नेताहरू केही भइहाल्छ कि भनेर लोभले यता बसेका थिए । अब केही नहुने जस्तो देखेपछि अवसर छोप्न दौडिएका हुन् । देउवानिकट अर्का नेता दीपक कुइँकेलले भने कांग्रेसभित्र सहमतिको समय घर्किँदै गएको प्रतिक्रिया दिए । संस्थापन पक्षले घोषणा गरेको वडा अधिवेशन स्थगित गरेर पूर्वसभापति देउवासँग संवाद गरे मात्रै राजनीतिक सहमतिको बाटो खुल्ने उनको भनाइ छ । अब एउटै मात्र उपाय छ, त्यो के हो भने संस्थापन पक्षले घोषणा गरेको वडा अधिवेशन स्थगित गरेर पूर्वसभापतिसँग संवाद भयो भने राजनीतिक विषयमा कुराहरू अगाडि बढ्ला,” कुइँकेलले भने । उनका अनुसार, वडा अधिवेशन सम्पन्न भएपछि सहमतिको सम्भावना थप जटिल बन्न सक्छ । “वडाको अधिवेशन गरिसकेपछि सहमति जुट्छ जस्तो मलाई लाग्दैन,” उनले भने । व्यक्तिगत रूपमा केही नेता सानेपा फर्किंदैमा देउवा पक्षको राजनीतिक अडानमा असर नपर्ने उनको दाबी छ । “संस्थागत रूपमा सभापति मुख्य हो ।

सभापतिको कुरा नटुंगिएसम्म अरू केही कुरा हुँदैन,” कुइँकेलले भने, “१४औँ महाधिवेशनको सभापति शेरबहादुर दाइ हो । त्यसकारण उहाँ आफैँ बसेर नटुंगिएसम्म अरू कुरा केही टुंगिँदैन ।” यसैबीच देउवानिकट नेता दीपक खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरेका छन् । सर्वोच्च अदालतको न्यायप्रति पूर्ण विश्वास रहेको भन्दै उनले उचित न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । खड्काले असोज १५ गतेदेखि हुने वडा अधिवेशन, असोज २० गते हुने नगर अधिवेशन, असोज २३ गते हुने प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन, कात्तिक १५ गते हुने जिल्ला अधिवेशन र मंसिर ४ गते हुने प्रदेश कार्यसमिति अधिवेशनमा सक्रिय सहभागिता जनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । देउवा पक्षले १५औँ महाधिवेशनको कार्यक्रम अगाडि बढाइसकेको छ । असन्तुष्ट पक्षका नेताहरूको सानेपा फिर्तीले कांग्रेसभित्र संवाद र सहमतिको सम्भावनालाई पुनः बहसमा ल्याए पनि महाधिवेशनको कार्यतालिका, नेतृत्व र संस्थागत विवाद भने पेचिलो छ । अब सानेपा फर्किएका नेताहरूको भूमिकासँगै पूर्वसभापति देउवाले लिने राजनीतिक रणनीतितर्फ कांग्रेसभित्रको ध्यान केन्द्रित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *