आजदेखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी शुरु
काठमाण्डौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आज असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ । आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत गरी १ सय भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेका छन् । प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायत सामग्री तथा प्रविधि प्रदर्शन राखिएको छ । यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउने उद्देश्यले डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्यसमेत राखिएको छ । नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए ।
व्यवसायमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा समेत प्रभाव पारेको भन्दै उनले घरजग्गा कारोबारमा लागू विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । घरजग्गा क्षेत्रलाई चलायमान बनाउन कर्जा–मूल्य अनुपात (एलटीभी) ७० प्रतिशत पुर्याउनुपर्ने मागसमेत मल्होत्राले गरे । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए । उनका अनुसार प्रदर्शनीमार्फत करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पसमेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछ ।
बाढीपीडितलाई राहतदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म
आयोजक संस्थाले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ । रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ । रक्तदान कार्यक्रमसँगै ओम हस्पिटल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराउने आयोजकको तयारी छ । प्रदर्शनीमा जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायत विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ । युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका तथा चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिने आयोजकले जनाएको छ । सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता कायम राखेको आयोजकको भनाइ छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्रमा तरलता सहज तथा ब्याजदर घट्दो क्रममा रहेकाले घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।

















