नेपालमा सूचना प्रविधि सुधारको राष्ट्रिय मार्गचित्र: कानुनदेखि डिजिटल अर्थतन्त्र र आत्मनिर्भर उद्योगसम्म कानुनी आधुनिकीकरण, संस्थागत क्षमता र सरकार–निजी क्षेत्रको सहकार्यमार्फत प्रविधि उपभोगबाट राष्ट्रिय उत्पादन तथा निर्याततर्फ


१. सूचना प्रविधि सुधार अब राष्ट्रिय आर्थिक प्राथमिकता
सूचना प्रविधि अब प्रशासनलाई छिटो बनाउने साधनमा मात्र सीमित छैन। यसले उत्पादन, व्यापार, रोजगारी, सार्वजनिक सेवा, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप परिवर्तन गरिरहेको छ। विश्व अर्थतन्त्र ज्ञान, डेटा र डिजिटल सेवामा आधारित हुँदै जाँदा कुनै देशको सामर्थ्य उसले कति प्रविधि खरिद गर्छ भन्ने कुराले मात्र होइन, त्यसलाई कति प्रभावकारी रूपमा उपयोग, व्यवस्थापन र उत्पादन गर्न सक्छ भन्ने कुराले मापन हुन थालेको छ। नेपालले डिजिटल सेवा विस्तार, दूरसञ्चार पहुँच, विद्युतीय भुक्तानी र सरकारी सूचना प्रणालीको प्रयोगमा उल्लेखनीय प्रगति गरेको छ। नेपाली प्रविधि कम्पनी तथा दक्ष जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो सम्भावना देखाएका छन्। तर यी उपलब्धिलाई राष्ट्रिय उत्पादन, रोजगारी, निर्यात र संस्थागत क्षमतामा रूपान्तरण गर्ने काम अझै अधुरो छ। मुख्य प्रश्न प्रविधि प्रयोग भइरहेको छ कि छैन भन्ने होइन, प्रविधिमा गरिएको लगानीले देशको उत्पादन क्षमता, सार्वजनिक संस्थाको दक्षता र नागरिकको जीवनमा कस्तो मापनयोग्य परिवर्तन ल्याएको छ भन्ने हो। सरकारी प्रणालीहरूबीच कमजोर अन्तरआबद्धता, दीर्घकालीन सञ्चालनमा बाह्य निर्भरता, सार्वजनिक खरिदमा जीवनचक्र लागतको अपर्याप्त मूल्याङ्कन, अनुसन्धानमा सीमित लगानी र स्वदेशी उद्योगका लागि पूर्वानुमानयोग्य बजारको अभावले यस रूपान्तरणलाई सुस्त बनाएको छ । त्यसैले नेपालको सूचना प्रविधि सुधारलाई छुट्टाछुट्टै परियोजना वा नयाँ सफ्टवेयर निर्माणको विषयका रूपमा होइन, कानुन, संस्था, बजार, जनशक्ति र उद्योगलाई एउटै राष्ट्रिय दिशामा जोड्ने आर्थिक तथा संस्थागत रूपान्तरणका रूपमा हेर्नुपर्छ। नेपालको लक्ष्य प्रविधि उपभोग गर्ने बजारबाट प्रविधि विकास, व्यवस्थापन र निर्यात गर्न सक्ने अर्थतन्त्रतर्फ अघि बढ्नु हुनुपर्छ।
२. कानुनी आधार छ, अब सामञ्जस्य र कार्यान्वयन चाहिन्छ
नेपालको संविधानले स्वतन्त्रता, सञ्चार, सूचनाको हक र गोपनीयताको अधिकार सुनिश्चित गरेको छ। विशेषतः धारा १७, १९, २७ र २८ डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा नागरिकको अधिकार संरक्षण गर्ने संवैधानिक आधार हुन्। डिजिटल सेवा विस्तारसँगै व्यक्तिगत विवरणको सुरक्षा, तथ्याङ्कको वैधानिक प्रयोग, निर्णय प्रक्रियाको पारदर्शिता र सेवाप्रदायकको उत्तरदायित्व पनि सुनिश्चित हुनुपर्छ। नेपालमा विद्युतीय कारोबार ऐन, २०६३, सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४, दूरसञ्चार ऐन, २०५३, प्रतिलिपि अधिकार ऐन, २०५९, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, श्रम ऐन, २०७४ र विद्युतीय व्यापार ऐन, २०८१ लगायतका कानुनी आधार छन्। सूचना तथा सञ्चार प्रविधि नीति, राष्ट्रिय ब्रोडब्यान्ड नीति, डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय साइबर सुरक्षा नीति र सोह्रौँ योजनाले पनि क्षेत्रगत दिशा दिएका छन्। तर कानुनको उपस्थिति र त्यसको प्रभावकारी कार्यान्वयन एउटै कुरा होइन। डिजिटल अर्थतन्त्रमा डेटा संरक्षण, क्लाउड सेवा, कृत्रिम बुद्धिमत्ता, डिजिटल पहिचान, साइबर घटना व्यवस्थापन, बौद्धिक सम्पत्ति, सीमापार डेटा प्रवाह र डिजिटल निर्यातजस्ता विषयको महत्त्व बढेको छ। विद्यमान कानुनले यी विषयलाई कति स्पष्ट रूपमा सम्बोधन गर्छन्, कुन निकायको के जिम्मेवारी हो र उल्लङ्घन हुँदा उपचार तथा उत्तरदायित्व कसरी निर्धारण हुन्छ भन्ने कुराको व्यवस्थित समीक्षा आवश्यक छ। नेपाललाई कानुनको संख्या बढाउनेभन्दा कानुनबीच सामञ्जस्य कायम गर्ने, अधिकारक्षेत्र स्पष्ट पार्ने र कार्यान्वयन गर्ने निकायको प्राविधिक क्षमता बढाउने सुधार चाहिएको छ। कानुनी आधुनिकीकरणको उद्देश्य नवप्रवर्तन रोक्नु होइन, नागरिकको अधिकार सुरक्षित गर्दै लगानी, प्रतिस्पर्धा र प्रविधि विकासका लागि विश्वासयोग्य वातावरण बनाउनु हो।
३. सरकार र निजी क्षेत्रबीचको अन्तर : दोषारोपण होइन, संरचनागत समाधान
सरकारी निकायलाई सुरक्षित, भरपर्दो, अन्तरआबद्ध र दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने प्रणाली चाहिन्छ। निजी क्षेत्रलाई स्पष्ट माग, पारदर्शी प्रतिस्पर्धा, स्थिर नीति, लगानीको अवसर र उत्पादन विस्तार गर्न सकिने बजार चाहिन्छ। यी आवश्यकता परस्पर विरोधी होइनन्स तर तिनलाई जोड्ने संस्थागत संयन्त्र पर्याप्त बलियो छैन। सरकारी क्षेत्रमा कतिपय अवस्थामा आवश्यकताको परिभाषा, प्रणाली वास्तुकला, प्राविधिक विशिष्टता, डेटा व्यवस्थापन र खरिदपछिको सञ्चालन योजनाबीच पर्याप्त सम्बन्ध देखिँदैन। परिणामस्वरूप प्रणालीहरू अलग(अलग विकास हुने, एउटै तथ्याङ्क दोहोर्‍याएर संकलन हुने, एकीकरण कठिन हुने र सेवा प्रदायक परिवर्तन गर्दा डेटा तथा ज्ञान हस्तान्तरणमा समस्या आउन सक्ने जोखिम रहन्छ। निजी क्षेत्रतर्फ पनि कम्पनीहरूको प्राविधिक तथा वित्तीय क्षमता समान छैन। अनुसन्धान र विकासमा लगानी, उत्पादनको गुणस्तर, अन्तर्राष्ट्रिय प्रमाणीकरण, बौद्धिक सम्पत्ति व्यवस्थापन र निर्यात बजारमा पहुँच बढाउनुपर्ने आवश्यकता छ। स्टार्टअप र साना कम्पनीलाई सार्वजनिक बजारमा प्रवेश गर्न स्पष्ट, समान र अनुपातिक प्रतिस्पर्धात्मक अवसर चाहिन्छ। यस अन्तरलाई कुनै एक पक्षको कमजोरी भनेर व्याख्या गर्नु पर्याप्त हुँदैन। यसको जरो सरकारी माग व्यवस्थापन, बजार संरचना, प्राविधिक जनशक्ति, वित्तीय पहुँच र नीति कार्यान्वयनबीचको असम्बद्धतामा छ। सरकारले आवश्यकतालाई स्पष्ट र पूर्वानुमानयोग्य बनाउनुपर्छस निजी क्षेत्रले गुणस्तर, सुरक्षा र व्यावसायिक उत्तरदायित्वमा लगानी गर्नुपर्छस विश्वविद्यालय तथा अनुसन्धान संस्थाले सीप र अनुसन्धानलाई वास्तविक बजारको समस्यासँग जोड्नुपर्छ। सरकारको भूमिका निजी क्षेत्रको स्थान लिनु होइन, सक्षम उद्योग विकास गर्न आवश्यक नियम, पूर्वाधार र निष्पक्ष बजार वातावरण निर्माण गर्नु हो। निजी क्षेत्रको भूमिका पनि सार्वजनिक उत्तरदायित्व प्रतिस्थापन गर्नु होइन, प्रतिस्पर्धी उत्पादन र सेवा उपलब्ध गराउनु हो।
४. सार्वजनिक सूचना प्रविधि खरिद : प्रारम्भिक मूल्य होइन, जीवनचक्रको मूल्य
सूचना प्रविधि खरिदको आर्थिक प्रभाव सम्झौता रकममा मात्र सीमित हुँदैन। प्रणालीको डिजाइन, विकास, लाइसेन्स, एकीकरण, प्रशिक्षण, सञ्चालन, मर्मत, सुरक्षा अद्यावधिक, विस्तार र अन्तिम प्रतिस्थापनसम्म लागत तथा जोखिम रहन्छ। त्यसैले सबैभन्दा कम प्रारम्भिक मूल्यलाई मात्र सफल खरिदको सूचक मान्नु प्राविधिक र आर्थिक दुवै दृष्टिले अपूर्ण हुन्छ। सार्वजनिक निकायले Total Cost of Ownership (TCO) र Life-Cycle Cost का आधारमा विकल्प तुलना गर्नुपर्छ। आवश्यकता विश्लेषण, विद्यमान प्रणालीसँग अनुकूलता, प्रयोगकर्ताको संख्या, कार्यभार, सुरक्षा जोखिम, विस्तार क्षमता र सञ्चालन स्रोतको मूल्याङ्कन खरिदअघि नै हुनुपर्छ। खरिदका प्राविधिक कागजातमा खुला मापदण्ड, दस्तावेजीकृत API, डेटा पोर्टेबिलिटी, अन्तरआबद्धता, स्रोत कोड तथा बौद्धिक सम्पत्तिको अधिकार, सुरक्षा परीक्षण, सेवा स्तर सम्झौता र Exit Management स्पष्ट हुनुपर्छ। सम्झौताको प्रकृति र भुक्तानीको आधारअनुसार स्रोत कोडको स्वामित्व, प्रयोग अधिकार वा Escrow को व्यवस्था निर्धारण गर्नुपर्छ। प्रणाली स्वीकृत गर्दा केवल आपूर्तिकर्ताको घोषणामा निर्भर नभई मापनयोग्य कार्यसम्पादन तथा आवश्यक स्वतन्त्र परीक्षणका आधारमा निर्णय गर्नुपर्छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्यमान सार्वजनिक खरिद कानुनसँग सामञ्जस्य राख्दै सूचना प्रविधि खरिदका लागि क्षेत्रगत मार्गदर्शन, नमुना सम्झौता प्रावधान र प्राविधिक मूल्याङ्कनका आधार विकास गर्न सक्छ। यसले प्रतिस्पर्धा सीमित गर्नु हुँदैनस बरु प्राविधिक तटस्थता, पारदर्शिता र सार्वजनिक लगानीको प्रतिफल सुनिश्चित गर्नुपर्छ। सरकारी निकायमा आवश्यकता निर्धारण, प्राविधिक मूल्याङ्कन, सम्झौता व्यवस्थापन र प्रणाली स्वीकृतिका लागि सक्षम प्राविधिक टोली आवश्यक छ। बाह्य सेवा लिन सकिन्छ, तर राज्यले आफ्नो प्रणाली कसरी डिजाइन भएको छ, कहाँ डेटा राखिएको छ, सुरक्षा जोखिम के छन् र सेवा प्रदायक परिवर्तन गर्दा कसरी निरन्तरता कायम गर्ने भन्ने आधारभूत ज्ञान आफैँसँग राख्नुपर्छ।
५. राष्ट्रिय डिजिटल पूर्वाधार र तथ्याङ्क शासन
हरेक सरकारी निकायले अलग(अलग प्रणाली बनाउने तर ती प्रणालीबीच संवाद नहुने अवस्था दीर्घकालीन रूपमा दिगो हुँदैन। राष्ट्रिय डिजिटल पूर्वाधारको उद्देश्य सबै डेटा एउटै केन्द्रीय भण्डारमा राख्नु होइनस कानुनी आधार, आवश्यकता र सुरक्षा मापदण्डअनुसार निकायहरूबीच सुरक्षित तथ्याङ्क आदानप्रदान सम्भव बनाउनु हो। यसका लागि राष्ट्रिय डिजिटल वास्तुकला, साझा अन्तरआबद्धता मापदण्ड, API संरचना, डिजिटल पहिचान, डिजिटल भुक्तानी, डिजिटल हस्ताक्षर, सरकारी क्लाउड तथा साझा सेवाको स्पष्ट शासन आवश्यक छ। तथ्याङ्कको स्वामित्व, वर्गीकरण, पहुँच, प्रयोगको प्रयोजन, अभिलेखीकरण र संरक्षण अवधि निर्धारण हुनुपर्छ। संवेदनशील तथ्याङ्कमा पहुँच न्यूनतम आवश्यकताका आधारमा सीमित गर्नुपर्छ र प्रयोगको अडिट ट्रेल राख्नुपर्छ। साइबर सुरक्षा प्रत्येक प्रणालीको डिजाइनदेखि सञ्चालनसम्म समावेश हुनुपर्छ। Secure-by-Design, Zero-Trust Architecture, Encryption, Multi-Factor Authentication, Vulnerability Management, Security Monitoring र Incident Response जस्ता अभ्यासलाई सरकारी प्रणालीका मापदण्डमा समेट्नुपर्छ। महत्वपूर्ण प्रणालीका लागि नियमित जोखिम मूल्याङ्कन, स्वतन्त्र सुरक्षा परीक्षण, ब्याकअप र विपद् पुनःस्थापना योजना अनिवार्य हुनुपर्छ। “डिजिटल पूर्वाधारको सफलता प्रणालीको संख्याले होइन, सेवा निरन्तरता, सुरक्षा, अन्तरआबद्धता र नागरिकले अनुभव गर्ने सुविधाले मापन हुनुपर्छ।“
६. स्वदेशी सूचना प्रविधि उद्योग : रोजगारी, उत्पादन र निर्यातको आधार
नेपालको सूचना प्रविधि उद्योगको सम्भावना यसको मानव संसाधन, डिजिटल सेवाको बढ्दो माग र अन्तर्राष्ट्रिय बजारसँग जोडिन सक्ने क्षमतामा आधारित छ। तर “दक्ष जनशक्ति उपलब्ध हुनु र प्रतिस्पर्धी उद्योग निर्माण हुनु एउटै कुरा होइन। उद्योगलाई अनुसन्धान, पूँजी, गुणस्तर, बौद्धिक सम्पत्ति संरक्षण, व्यावसायिक व्यवस्थापन र निर्यात बजारमा पहुँच आवश्यक हुन्छ।“ नेपालले सफ्टवेयर विकास र आउटसोर्सिङमा मात्र सीमित नभई क्लाउड सेवा, साइबर सुरक्षा, डेटा विश्लेषण, कृत्रिम बुद्धिमत्ता, डिजिटल वित्त, कृषि तथा स्वास्थ्य प्रविधि, BPO र KPO जस्ता क्षेत्रमा उच्च मूल्य अभिवृद्धि गर्ने उत्पादन तथा सेवा विकास गर्नुपर्छ। यसका लागि राष्ट्रिय सूचना प्रविधि उद्योग विकास नीति आवश्यक छ, जसले अनुसन्धान तथा विकास, स्टार्टअप, लगानी, सीप, उत्पादन प्रमाणीकरण र निर्यातलाई एउटै औद्योगिक दृष्टिकोणमा जोडोस्। विश्वविद्यालय र उद्योगबीच संयुक्त अनुसन्धान, प्रयोगशाला, इन्टर्नसिप, व्यावसायिक सीप विकास र उत्पादन परीक्षणका अवसर विस्तार गर्नुपर्छ। सार्वजनिक क्षेत्रका वास्तविक समस्या अनुसन्धान तथा नवप्रवर्तनका लागि उपयोगी हुन सक्छन्स तर सार्वजनिक खरिद निष्पक्ष प्रतिस्पर्धा र गुणस्तरमा आधारित रहनुपर्छ। स्वदेशी कम्पनीलाई प्राथमिकता दिने नीति भए पनि त्यसको कार्यान्वयन पारदर्शी, कानुनसम्मत र मापनयोग्य हुनुपर्छ। डिजिटल निर्यातलाई राष्ट्रिय आर्थिक रणनीतिमा स्पष्ट स्थान दिनुपर्छ। सफ्टवेयर, क्लाउड, साइबर सुरक्षा, डेटा सेवा, प्राविधिक परामर्श तथा BPO र KPO बाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। यसका लागि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण, बौद्धिक सम्पत्ति संरक्षण, डिजिटल भुक्तानी, लगानी र सीमापार सेवा कारोबारका प्रक्रियागत अवरोध घटाउनुपर्छ। विदेशमा कार्यरत नेपाली प्रविधि विज्ञ तथा उद्यमीको ज्ञान, लगानी र व्यावसायिक सञ्जाललाई स्वदेशी उद्योगसँग जोड्नु पनि महत्त्वपूर्ण छ। यसले नेपालमा उत्पादन भएका सेवा र प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्न सक्छ।
७. कानुनी तथा नियामकीय सुधारका प्राथमिकता
सूचना प्रविधिको तीव्र विकासले कानुनी संरचनामा पनि समयानुकूल परिवर्तन माग गर्छ। नेपालले विशेषतः व्यक्तिगत तथ्याङ्क संरक्षण, साइबर सुरक्षा, विद्युतीय कारोबार, सूचना प्रविधि खरिद, कृत्रिम बुद्धिमत्ता, डिजिटल लगानी र निर्यातसम्बन्धी व्यवस्थाको समीक्षा गर्नुपर्छ। व्यक्तिगत तथ्याङ्कको संकलन, प्रशोधन, साझेदारी र भण्डारणका लागि वैधानिक आधार, प्रयोजनको सीमा, नागरिकको अधिकार, सुरक्षा उल्लङ्घनको सूचना र नियामकीय उत्तरदायित्व स्पष्ट हुनुपर्छ। साइबर सुरक्षा कानुनी संरचनाले डिजिटल प्रमाण, महत्वपूर्ण सूचना पूर्वाधार, सुरक्षा घटना प्रतिवेदन र संस्थागत जिम्मेवारी समेट्नुपर्छ। कृत्रिम बुद्धिमत्ताको प्रयोगमा जोखिममा आधारित नियमन, पारदर्शिता, मानव निरीक्षण र निर्णयको उत्तरदायित्व आवश्यक छ।
त्यसैगरी सार्वजनिक सूचना प्रविधि खरिदका लागि प्राविधिक मार्गदर्शन तथा नमुना सम्झौता प्रावधान, डिजिटल सेवाको निर्यातका लागि सहज कानुनी प्रक्रिया र सफ्टवेयर तथा डिजिटल उत्पादनको बौद्धिक सम्पत्ति संरक्षण प्रभावकारी बनाउनुपर्छ। नयाँ कानुन बनाउँदा विद्यमान कानुनसँगको सम्बन्ध, कार्यान्वयन गर्ने निकाय, नियमनको लागत र उद्योगमा पर्ने प्रभावसमेत मूल्याङ्कन गर्नुपर्छ। राम्रो नियमनले नवप्रवर्तनलाई निरुत्साहित गर्दैन, यसले बजारमा विश्वास, निष्पक्षता र दीर्घकालीन लगानीको आधार तयार गर्छ।
८. कार्यान्वयन र संस्थागत उत्तरदायित्व
राष्ट्रिय मार्गचित्र सफल हुन नीति र कार्यक्रमसँगै स्पष्ट संस्थागत जिम्मेवारी आवश्यक छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय प्राथमिकता र अन्तरनिकाय समन्वयमा रणनीतिक भूमिका निर्वाह गर्न सक्छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीतिगत नेतृत्व र कानुनी सुधार अघि बढाउनुपर्छ। सूचना प्रविधि विभाग तथा सम्बन्धित निकायले प्राविधिक मापदण्ड, साझा संरचना र कार्यान्वयनमा भूमिका निर्वाह गर्न सक्छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर जोखिम र घटना व्यवस्थापनमा क्षमता विकास गर्नुपर्छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रविधि खरिदसम्बन्धी मार्गदर्शन विकास गर्नुपर्छ। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले बजेट तथा लगानीलाई मापनयोग्य परिणामसँग जोड्नुपर्छ। प्रदेश तथा स्थानीय तहलाई राष्ट्रिय डिजिटल संरचनाको कार्यान्वयनमा सहभागी गराउनुपर्छ, किनकि नागरिकले प्रत्यक्ष अनुभव गर्ने धेरै सेवा तिनै तहबाट उपलब्ध हुन्छन्। निजी क्षेत्र, विश्वविद्यालय र अनुसन्धान संस्थासँग नियमित प्राविधिक संवादको व्यवस्था हुनुपर्छ। प्रत्येक जिम्मेवार निकायलाई आवश्यक जनशक्ति, बजेट, अधिकार र कार्यसम्पादन सूचक उपलब्ध गराउनुपर्छ। अधिकारबिनाको जिम्मेवारी र उत्तरदायित्वबिनाको अधिकार दुवैले कार्यान्वयन कमजोर बनाउँछन्। कार्यान्वयनलाई चरणबद्ध रूपमा अघि बढाउँदा पहिलो प्राथमिकता कानुनी तथा संस्थागत समीक्षा, सरकारी प्रणालीको सूचीकरण र राष्ट्रिय डिजिटल वास्तुकलाको आधार निर्माण हुनुपर्छ। त्यसपछि खरिद मापदण्ड, अन्तरआबद्धता, साइबर सुरक्षा र प्राविधिक जनशक्ति विकासलाई सुदृढ गर्दै उद्योग, अनुसन्धान र निर्यातसम्बन्धी कार्यक्रम विस्तार गर्न सकिन्छ। प्रत्येक चरणमा जिम्मेवार निकाय, बजेट, समयसीमा र परिणाम सूचक सार्वजनिक हुनुपर्छ।
९. सफलताको मापन : प्रणालीको संख्याभन्दा राष्ट्रिय परिणाम
डिजिटल रूपान्तरणको सफलता कति वटा सफ्टवेयर बने वा कति वेबसाइट सञ्चालनमा आए भन्ने आधारमा मात्र मापन गर्नु पर्याप्त हुँदैन। नागरिकले सेवा प्राप्त गर्न लाग्ने समय र लागत घट्यो कि घटेन, सरकारी प्रणालीबीच तथ्याङ्क सुरक्षित रूपमा आदानप्रदान भयो कि भएन, सार्वजनिक लगानीको जीवनचक्र प्रतिफल सुधारियो कि भएन र स्वदेशी उद्योगले उत्पादन तथा निर्यात विस्तार गर्‍यो कि गरेन भन्ने प्रश्न निर्णायक हुनुपर्छ। राष्ट्रिय मूल्याङ्कनमा पूर्ण रूपमा अनलाइन सम्पन्न हुने सेवाको अनुपात, सेवा प्राप्तिको औसत समय, प्रणाली उपलब्धता, साइबर सुरक्षा परीक्षण, डेटा पुनःप्रयोग, अन्तरआबद्धता, सार्वजनिक खरिदको TCO मूल्याङ्कन, स्वदेशी कम्पनीको प्रतिस्पर्धात्मक सहभागिता, IT निर्यात, रोजगारी र अनुसन्धानमा लगानीजस्ता सूचक समावेश गर्नुपर्छ। यस्ता सूचकको आधाररेखा तयार गरी नियमित रूपमा सार्वजनिक प्रतिवेदन प्रकाशित गर्नुपर्छ। लक्ष्य पूरा नभए कारण पहिचान गरी कार्यक्रम तथा बजेटमा सुधार गर्ने व्यवस्था हुनुपर्छ। परिणाममा आधारित अनुगमनले डिजिटल परियोजनालाई खर्च केन्द्रित गतिविधिबाट सार्वजनिक मूल्य र आर्थिक प्रतिफल सिर्जना गर्ने कार्यक्रमका रूपमा रूपान्तरण गर्न सक्छ।
१०. निष्कर्ष : कानुनी सुधारबाट आत्मनिर्भर डिजिटल अर्थतन्त्रतर्फ
नेपालको सूचना प्रविधि क्षेत्रको भविष्य नयाँ प्रविधि भित्र्याउने क्षमतामा मात्र निर्भर हुँदैन। यसको दिशा कानुनी स्पष्टता, संस्थागत क्षमता, सार्वजनिक लगानीको गुणस्तर, निजी क्षेत्रको प्रतिस्पर्धात्मकता र अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रिय उत्पादनसँग जोड्न सक्ने क्षमताले निर्धारण गर्नेछ। प्राविधिक आत्मनिर्भरता भनेको विदेशी प्रविधि प्रयोग नगर्नु वा अन्तर्राष्ट्रिय बजारबाट अलग रहनु होइन। यसको अर्थ आफ्नो आवश्यकता पहिचान गर्न, उपयुक्त प्रविधि छनोट गर्न, त्यसलाई सुरक्षित रूपमा सञ्चालन र परिमार्जन गर्न, आवश्यक क्षेत्रमा आफ्नै समाधान विकास गर्न र राष्ट्रिय हितअनुकूल प्रविधिगत निर्णय लिन सक्ने क्षमता निर्माण गर्नु हो। यसका लागि सरकारले पूर्वानुमानयोग्य कानुनी तथा नीतिगत वातावरण, सुरक्षित डिजिटल पूर्वाधार र निष्पक्ष प्रतिस्पर्धाको आधार तयार गर्नुपर्छ। निजी क्षेत्रले अनुसन्धान, गुणस्तर, उत्पादन र अन्तर्राष्ट्रिय बजारमा लगानी गर्नुपर्छ। विश्वविद्यालय तथा अनुसन्धान संस्थाले ज्ञान र सीपलाई व्यवहारिक नवप्रवर्तनसँग जोड्नुपर्छ। यी पक्षबीचको सहकार्य परियोजनामुखी नभई दीर्घकालीन राष्ट्रिय रणनीतिमा आधारित हुनुपर्छ। नेपालले प्रविधि उपभोग गर्ने बजारबाट प्रविधि उत्पादन गर्ने, डिजिटल सेवा निर्यात गर्ने र आफ्नै राष्ट्रिय आवश्यकता तथा हितअनुसार प्रविधि व्यवस्थापन गर्न सक्ने अर्थतन्त्रतर्फ अघि बढ्नुपर्छ। त्यसका लागि कानुनी सुधार सुरुवात होस संस्थागत कार्यान्वयन, उद्योग विकास र मापनयोग्य आर्थिक परिणाम यसको वास्तविक परीक्षा हुन्। “नेपालको डिजिटल भविष्यको सफलता प्रविधि आयातको परिमाणले होइन, त्यसबाट निर्माण भएको राष्ट्रिय क्षमता, स्वदेशी उद्योगको प्रतिस्पर्धात्मकता, सिर्जित रोजगारी र नागरिकले प्राप्त गरेको सार्वजनिक मूल्यले मापन हुनेछ।“ सूचना प्रविधि विज्ञ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *