कांग्रेसको महाधिवेशन समयमै हुने स्थिति देखिएन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमै हुने स्थिति नदेखिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले उक्त कुरा बताएका हुन् । तोकिएकै समयमा महाधिवेशन गर्ने आधार नरहेको उनको भनाइ छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठूलो चुनौति क्रियाशील सदस्यता टुंग्याउनु रहेको बताए । क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा रहेको उनको भनाइ छ । जिल्ला जिल्लामा क्रमसंख्या नभएको क्रियाशील सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको महतले बताए । कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकेको र भरेर मात्रै नहुने र इन्ट्री गर्नुपर्ने भएकाले त्यो सहज नरहेको उनले बताए ।

क्रमसंख्या नभएको धेरै ठाउँमा त्यो विषय समस्या छ । सक्रिय सदस्यता फारम गएको हुनाले फेरि पठाउनुपर्नेछ । कतिपय जिल्लाहरूमा समयमा भरेर बुझाउन सकेको अवस्था छैन । भरेर मात्रे पुग्दैन, इन्ट्रि गर्नुपर्छ । सहज त्यो छैन, महतले भने । विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाका कार्यकर्ताले प्रयास गर्दा पनि सफल हुन नसकेको उनको भनाइ छ । जिल्ला कार्यालय नै तहसनहस छ । यी सबैले गर्दा क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाजिल्लाका साथीहरूले आफ्नो भरमजबुर प्रयास गर्दागर्दै पनि सबै ठाउँमा एकनास किसिमबाट सम्पन्न हुन सकेको छैन । जसका कारण तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशीलता हुँदाहुँदै पनि सम्भव नरहेको उनले बताए । पार्टीका जिम्मेवार पदाधिकारीहरूले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *