हिमालयन लाइफको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा बीमा व्यवसाय विस्तारमा सकारात्मक सुधार हासिल गरेको देखिएको छ। कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले वृद्धि हुँदै ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो। यद्यपि कम्पनीको खुद नाफा भने ४७ करोड २४ लाख रुपैयाँबाट ४४.६६ प्रतिशतले घटेर २६ करोड १४ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो ६.१८ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन १ अर्ब २१ करोड ८३ लाख रुपैयाँ थियो। बीमा शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको बजार पहुँच र व्यवसायिक गतिविधि विस्तार भएको देखाउँछ। कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ रहेको छ भने कुल खर्च १६ अर्ब ९० करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै अभिकर्तालाई दिइने कमिसन खर्च ५.७३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ कायम भएको छ । जगेडा कोष ४१.७४ प्रतिशतले बढेर ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष ७० करोड २९ लाख रुपैयाँ रहेको थियो। महाविपत्ति कोष पनि वृद्धि हुँदै ४६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *