इन्दिरा जोशी आमा बन्ने तयारीमा

काठमाण्डौं । चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने तयारीमा छिन्। बिहीबार उनले सामाजिक सञ्जालमा बेबीबम्प फोटोसुट सार्वजनिक गर्दै गर्भावस्थाको अनुभव साझा गरेकी छन्। इन्दिराले जुम्ल्याहा सन्तानलाई जन्म दिँदैछिन्। उनले आफ्नो पोस्टमा यसबारे जानकारी दिँदै महिलाहरूले गर्भावस्थाका चुनौतीबारे खुला रूपमा बोल्नुपर्ने उल्लेख गरेकी छन्। गर्भावस्था त्यति सजिलो हुँदैन। अहिलेसम्म जुम्ल्याहा सन्तानको गर्भ बोकेर मैले जे अनुभव गरेँ, त्यसपछि आफूलाई भन्न सक्छु, यदि यो गर्न सक्छु भने, म जे पनि गर्न सक्छुु इन्दिराले लेखेकी छन्। उनले अघिल्ला पुस्ताका महिलाहरूले गर्भावस्थामा भोग्ने कठिनाइबारे धेरै नबोल्ने गरेको उल्लेख गर्दै अहिलेका महिलाहरू अझ खुला रूपमा आफ्ना अनुभव साझा गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

इन्दिराले गर्भावस्थाको तेस्रो चरण आफूलाई निकै सहज र सुखद भएको पनि बताएकी छन्। अहिले आफू राम्रोसँग खान, घुम्न, परिवार तथा साथीभाइसँग समय बिताउन पाएको उल्लेख गर्दै उनले शिशुको आगमनका लागि किनमेल, घरको तयारी तथा आवश्यक व्यवस्थापनमा व्यस्त रहेको जनाएकी छन्। उनले गर्भावस्थामा परिवार र आफन्तको साथ तथा सकारात्मक वातावरण अत्यन्त आवश्यक हुने उल्लेख गरेकी छन्। साथै, सुत्केरीपछिको अवस्था कस्तो हुन्छ भन्ने उत्सुकता पनि व्यक्त गरेकी छन्। इन्दिराको उक्त पोस्टमा थुप्रैले शुभकामना दिइरहेका छन्। इन्दिराले वि.स. २०७९ सालमा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी थिइन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *