संसद्मा शीर्ष नेता बोल्न छुट्टै समय व्यवस्थापनको तयारी
काठमाडौं । संसद्मा शीर्ष नेता बोल्न महिनामा दुईपटक छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिमा यसबारे छलफल भएको छ । शीर्ष नेताले विशेष समय लिएर सम्बोधन गर्न पाउँछन् । विपक्षी दलका नेताले चाहेको समयमा बोल्न पाउँछन् । तर, महिनामा एक वा दुईपटक छुट्टै समय छुट्याउनुपर्ने कुरा उठेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले त्यसबारे छलफल भए पनि निर्णय भइनसकेको बताए । दलका शीर्ष नेताले संसद्को पहिलो बैठकमा बोलेका थिए । त्यसपछिका बैठकमा दलका शीर्ष नेताले सम्बोधन गरेका छैनन् ।
स्रोतका अनुसार शीर्ष नेता मात्रै बोल्न पाउनेभन्दा पनि दलले तोकेका व्यक्ति बोल्न पाउनुपर्ने माग कार्यव्यवस्थामा उठेपछि तत्काल निर्णय हुन सकेन । “दलका शीर्ष नेताले मात्रै बोल्न पाउनेगरी छलफल भएको थियो । शीर्ष नेतामात्रै नभएर दलले तोकेका व्यक्ति पनि बोल्न पाउनुपर्ने कुरा उठ्यो । त्यसबारे निर्णय भएन,” कार्यव्यवस्थामा सहभागी एक सांसदले भने । नियमावलीमा नभएको व्यवस्थामा दलहरूबीच छलफलका आधारमा छुट्टै समय राख्नेबारे छलफल भएको हो ।
















