सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबारको बैठकले गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि आजका लागि बैठक स्थगित भएको हो । चालिसेले भने, आजको बैठकमा २४, २५ जनाले आफ्नो धारणा राख्नुभएको थियो ।
सबैले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकार गर्ने बताउनुभयो । नैतिकताकै आधारमा अहिले नै राजीनामा दिइहाल्नुपर्ने स्थिति नरहेको उहाँहरूको भनाइ छ । निष्कर्ष सबैको त्यही हो । औपचारिक निर्णय अर्को बैठकले गर्नेछ । शुक्रबार बसेको बैठकमा धारणा राख्ने सबैले नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् । आइतबार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको चालिसेको भनाइ छ ।
















