टनेलभित्र गएर उद्धार गरिएको थियो चिनियाँ नागरिक

काठमाडौं । नेपाली सेनाको उद्धार टोलीले अपर त्रिशूली १ को सुरुङबाट एकजना चिनियाँ नागरिकको जीवित उद्धार गरेको छ । ११औँ दिनमा नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार गरेको हो । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघिमात्रै उक्त टनेलबाट उनलाई उद्धार गरिएको हो । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि उनी त्यहीँ फसेका थिए । टनेलभित्र डुंगामा प्रवेश गरेर उनको उद्धार गरिएको उद्धारमा सहभागी एक अधिकारीले जानकारी दिए । “टनेलभित्र धेरै पानी जमेको थियो । डुंगाबाट टनेलमा प्रवेश गर्‍यौँ,” ती अधिकारीले भने, “त्यहाँभित्र एकजना चिनियाँ जीवितै रहेको पायौँ । उनलाई हामीले त्यहाँभित्र बनेको दोस्रो पोखरीबाट उद्धार गरेका हौँ । अहिले तेस्रो पोखरीतर्फ टोली पुग्दैछ ।” प्राविधिकका अनुसार टनेलमा स्काभेटरसहितका गेग्रान पसेर थुप्रिएपछि त्यहीँभित्र पोखरी बनेको छ । उद्धार गरिएको चिनियाँ नागरिकलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदैछ । उनलाई ११ दिनपछि जीवितै उद्धार गरिएको हो । यसअघि त्रिशूली ३ ए बाट हिजो दुई जना नेपाली नागरिकको जीवितै उद्धार गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *