भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जना अब मृत
काठमाण्डौं । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । मृत घोषणाका लागि सिफारिस गरिएकाहरूमा ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना स्वदेशी र १९ वटा विदेशी नियोगबाट प्रमाणीकरण भई आएका ६२३ जना विदेशी नागरिक रहेका छन् । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) बमोजिम विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने कानुनी प्रावधान छ । यसअघि प्राधिकरणले स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नियोगबाट प्राप्त सूचीमाथि दाबी विरोध पेस गर्न दुई चरणमा सात दिने सूचना प्रकाशित गरेको थियो ।
सोही बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न राष्ट्रिय नीति तथा कार्ययोजनाहरू समेत स्वीकृत गरेको छ । बैठकले २०८७ सालसम्ममा देशका सबै समुदायमा प्रकोपको पूर्वसूचना पु¥याउन बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार र स्तरोन्नति गर्ने लक्ष्यसहित ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ पारित गरेको छ । यसका साथै ‘वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना (२०८३।८४–२०९१।९२)’ र ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना (२०८३–२०८७)’ पनि स्वीकृत गरिएको छ । त्यसैगरी, बैठकले विपद्को उच्च जोखिममा रहेका विभिन्न तीन जिल्लाका कुल ११८ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति प्रदान गरेको छ । निर्णयअनुसार डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका र माला गाउँका २४ घरधुरी तथा वडा नं. २ स्थित बलौचा गाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाको सुरक्षित स्थानमा सारिनेछ । यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही नगरको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गरिने भएको छ ।

















