साउदीमा भएको हवाई आक्रमणमा १ नेपालीको मृत्यु, ३ घाइते
काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् । गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दुःखद निधन भयो । परराष्ट्र मन्त्रालयका अनुसार साउदीमा पछिल्ला दिनहरुमा हुथी विद्रोहीहरुले आक्रमण गर्दै आएका छन् । उनीहरुले प्रहार गरेका मिसाइल र ड्रोनलाई साउदीको हवाई रक्षा प्रणालीले आकासमै रोक्ने प्रयास गर्दै आएको छ । त्यसक्रममा उछिट्टिएका टुक्राबाट आगलागी र मानवीय क्षतिका घटना हुँदै आएका छन् । ‘अहिलेसम्म त्यस्ता टुक्राले चार जना नेपालीलाई लागिसकेको छ । एक जना सामान्य उपचारपछि घर फर्किनु भएको छ । दुई जना गम्भीर घाइते हुनुहुन्छ । एकजनाको त दुःखद निधन भइहाल्यो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले भने । घाइतेहरुलाई अस्पताल पुगेर भेट्ने र शव नेपाल ल्याउने प्रक्रिया साउदीस्थित नेपाली दूतावासबाट सुरु भइसकेको उनले बताए । ‘उपचारको विषयमा फलोअप गर्ने र शव नेपाल फर्काउन समन्वय गर्ने लगायतका काम दूतावासबाट भइरहेको छ । त्यहाँ रहेका नेपाली समुदायलाई सचेत रहन अनुरोध गर्ने काम पनि भइरहेको छ,’ परराष्ट्रका प्रवक्ता क्षेत्रीले भने ।
नेपाल सरकारबाट आक्रमणको निन्दा
साउदी अरबमा हालै भएका आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको र अन्य तीन नेपाली घाइते भएको घटनाप्रति नेपालले दुःख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

















