नेपाललाई दिने पौने ६ करोड डलर ऋण तथा अनुदानमा एडीबीको स्वीकृति
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबर ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ । एडीबीका अनुसार काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास परियोजनामा खर्च गर्ने गरी उक्त सहायता स्वीकृत गरिएको हो । यसमध्ये ५ करोड डलर (७ अर्ब ३८ करोड हाराहारी) ऋण र ७५ लाख डलर (१ अर्ब ११ करोड हाराहारी) अनुदान छ । ‘काठमाडौं भ्याली वाटर सेक्टर रिफर्म प्रोग्राम’ मार्फत कार्यक्रम कार्यान्वयन हुने एडीबीले जनाएको छ । काठमाडौं उपत्यका लामो समयदेखि स्वच्छ खानेपानी सुविधाका लागि संघर्षरत छ ।
कमजोर संस्थागत क्षमता, व्यावसायिक कार्यसम्पादन अभाव, फोहोर पानी प्रशोधन सुविधाको कमी, एकीकृत योजना र विकास अभावजस्ता समस्या सम्बोधन लक्ष्य यस परियोजनामा राखिएको छ । खानेपानीसँग सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि गर्र्दै नागरिक लक्षित जल वितरण प्रणाली बलियो बनाइने एडीबीले जनाएको छ । एडीबीकाका कन्ट्री डाइरेक्टर अर्नोड काउचोइसले खानेपानी सेवामा आबद्ध संस्थाहरू सुदृढ पार्ने, क्षमता बढाउने र जलवायु परिवर्तनका असर सामना गर्न सक्षम पूर्वाधारमा लगानी गरिने बताए । सरकारको उपत्यकामा खानेपानी सेवा सक्षम बनाउने नेपाल सरकारको प्रयासमा एडीबीले हातेमालो गरेको हो ।

















