होल्डिङ सेन्टरबाट सुकुम्वासी हटाउने निर्णयप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । नेकपाले सरकारको कदमलाई अमानवीय, असंवेदनशील र गरिबविरोधी भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट डोजर लगाएर विस्थापित गरिएका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उचित पुनर्वासको व्यवस्था गर्नुको सट्टा अस्थायी आश्रयस्थल समेत खाली गर्न खोज्नु सामाजिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गरेका छन् । “विस्थापित परिवारलाई वैकल्पिक आवासको सुनिश्चितताबिना अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर)बाट समेत निष्कासन गर्न खोज्नु सरकारको चरम संवेदनहीनता र श्रमजीवी वर्गप्रतिको अन्यायपूर्ण व्यवहारको दृष्टान्त हो,” विज्ञप्तिमा भनिएको छ । नेपालको संविधानले सुनिश्चित गरेको आवास, खाद्य तथा सामाजिक न्यायको हक र भूमिहीन दलितको जमिन तथा आवाससम्बन्धी अधिकारको सरकारले उल्लंघन गर्न नहुनेमा नेकपाले जोड दिएको छ । “शहरको सुन्दरताका नाममा गरिब जनतालाई कुरूप ठान्ने र विकासका नाममा श्रमजीवी जनतालाई विस्थापित गर्ने सोच र व्यवहार सर्वथा गलत छ,” विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *